राजनीति
बागलुङ-बागलुङको बडिगाड खोलामा गत भदौमा पहिरोले खोला थुनिँदा बनेको ताल पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । हिउँदको सफा मौसममा तालको सौन्दर्य खुलेपछि अहिले आन्तरिक पर्यटक अवलोकनका लागि आकर्षित भएका हुन् । बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको बडिगाड खोला पहिरोले थुनेपछि तुरतुरेमा ताल बनेको थियो ।

५० मिटरसम्म गहिरो र सय मिटर लामो उक्त ताल अवलोकनका लागि अहिले दैनिक २ सय जनासम्म आन्तरिक पर्यटक आउने गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए । मध्यपहाडी लोकमार्गको छेउमा बनेको तालले यात्रुलाई पनि लोभ्याएको त्यहाँ पुग्नेहरू बताउँछन् । अहिले ढोरपाटन शिकार आरक्षण र बुर्तिबाङ पुग्ने यात्रु सवारीसाधन रोकेर ताल, पहिरो अवलोकन गर्ने र तस्वीर लिने गरेका छन् ।

उक्त ताल बागलुङ सदरमुकारदेखि ९० किमी टाढा छ । सबैतिर चर्चा भएकाले आफू ताल हेर्न आएको सूर्य लामिछानेले बताए । ताल निकै आकर्षक रहेकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनले सुझाए । ताल अवलोकनका लागि बागलुङ सदरमुकाम, पोखरा, पाल्पा, गुल्मी, नेपालगञ्ज, अर्घाखाँची, म्याग्दी, पर्वतका अवलोकनकर्ता तुरतुरे पुग्ने गरेका छन् । ताल पहिरो गएको ठाउँ तुरतुरेदेखि सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म पुगेको छ ।

यसअघि नेपाली सेनाको प्राविधिक टोली तत्काललाई जोखीम टरेको भन्दै ताल नफुटाई फर्केको थियो । उक्त तालको विषयमा बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाबीच छलफल गरी निर्णय लिने अध्यक्ष पाइजाले बताए । ‘तालमा पर्यटक आइरहेक छन्,’ उनले भने, ‘केही जोखीम नभए संरक्षण गर्नेबारे चाँडै निर्णय गरी अघि बढ्छौं ।’

ताल जोगाउन सके पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर, वर्षामा आउने बाढीले ताल फुटाउने हो कि भन्ने चिन्ता तल्लो तटीय क्षेत्रका बासिन्दामा छ । गत वर्षामा खोला थुनिँदा छिमेकी जिल्ला गुल्मीसम्मका दर्जनौं बस्ती जोखीममा परेका थिए । पहिराले खोला थुनिएर ताल बन्दा सिमलचौरका केही घरगोठ र खेत डुबानमा पारेका छन् । सोही समयमा पहिरो खसेकै ठाउँबाट पैदल हिँड्ने क्रममा ढुङ्गाले च्यापिएर अर्घाखाँचीकी ३५ वर्षीया बिबिरन खातुनको ज्यान गएको थियो ।
बागलुङको बडिगाड र ढोरपाटन नगरपालिकाको सिमानामा पहिरोले खोला थुनेपछि बनेको ‘तुरतुरे ताल’ धेरैको रोजाइमा परेको छ ।

युवायुवतीदेखि वृद्धवृद्धाको रोजाइमा रहेको ‘तुरतुरे ताल’मा आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् । दैनिक २ सय देखि ३ सयकाे हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु तालमा सयर गर्न पुग्ने गरेका छन् ।
डुंगा चढ्नैका लागि पोखरा जानु नपर्ने भन्दै ताल संरक्षण समितिले त्यसलाई अझै व्यवसायिक तरिकाले अगाडि बढाएकाे छ । केही समय विपत्ति आइलागेको त्यस स्थानमा अहिले व्यवसाय पनि फस्टाउँदै गएको छ । अझै रोचक कुरा तपाई तालको फोटो लिन चाहनुहुन्छ भने १० रुपैयाँ नदिई सुखै छैन । याे ताल संरक्षण समितिको निर्णय हो ।त्यसैमा तपाईलाई तालमा सयर गर्न मन लागे १ सय ५० देखि ५ सय रुपैयाँमा आनन्द लिन सक्नुहुनेछ । समितिले केही दिनमै २ देखि ३ वटा डुंगा ल्याएर सञ्चालन गर्ने तयारी गरेको छ ।
