logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्ग बनाउन जुटे म्याग्दी नारच्याङका स्थानीय


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

पोखरा- पैदलयात्रा मार्फत अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदयात्रीहरूलाई सहज बाटो बनाउन पदमार्गको स्तरोन्नति गर्न थालिएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा म्याग्दीको नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको पदमार्ग उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुर्जाले बताए। जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको उनको भनाइ छ।

एक हप्तादेखि पदमार्ग निर्माणमा खटिएका नारच्याङका स्थानीयबासिन्दाले जङ्गलमै बास बसेर पदमार्गको काम गरिरहेका छन्। स्तरोन्नतिको काम भइरहेको पदमार्ग बस्तीबाट टाढा हुनुका साथै विकट रहेकोले गाउँबाट आवतजावत सम्भव नभएकाले जङ्गलमै बास बसेर काम गरिएको स्थानीयले बताएका छन्। यसअगाडि ट्रयाक मात्र खोलिएको नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीयको सक्रिय सहभागिता रहेको छ। उपभोक्ता समिति मार्फत काम भइरहेको पदमार्ग स्तरोन्नतीमा २९ जना मजदुर परिचालन भएका छन्।

पदमार्गमा दुई झोलुङ्गे पुलसहित आश्रयस्थल बनाउन लागिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको १० लाख रुपैयाँ सहयोगमा छोटेपा र आधार शिविरमा दुईवटा आश्रयस्थल बनाउन लागिएको हो। त्यस्तै, गण्डकी प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको १५ लाख रुपैयाँ सहयोगमा मिस्त्री खोला क्याम्प र फुतफुते झरना क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुँदैछ। यसअघि पदमार्ग नहुँदा मुस्ताङको ताउलुङ हुँदै झण्डै एक हप्ता लगाएर जोखिमयुक्त बाटो भएर पर्यटकहरू आधार शिविर पुग्ने गरेका थिए। पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तका सामान भरियाले लैजान थालेका छन्। पर्यटक भने हेलिकोप्टर चार्टर गरेर सिधै आधार शिविरमा पुग्ने गरेका छन्।

पदमार्ग स्तारोन्नति, पुल, क्याम्पिङ साइट, आश्रयस्थल लगायत पूर्वाधार तयार पारेर पर्यटकलाई पनि पैदलमार्गबाट आधार शिविर जाने वातावरण बनाउन पहल गरिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग वि‍।सं २०६८ मा स्थानीयवासीको पहलमा पहिचान भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार