राजनीति
बागलुङ नगरपालिका–६ मा निर्माणाधीन ‘विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।
धार्मिक र प्रकृतिप्रेमी पर्यटकलाई पञ्चकोटले लोभ्याएको छ । मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पञ्चकोटमा विश्वकै अग्लो १०८ फिटको विश्वशान्ति कलश, पाँच हजार ५५५ किलो मुक्तिनाथ महाघण्टलगायतका संरचना निर्माणको चरणमा छन् ।
सदरमुकामबाट आठ किमिको दूरीमा रहेको पञ्चकोट घुम्नेको संख्या बढ्दै गएको छ । शनिबार र सार्वजनिक बिदामा पर्यटकको घुइँचो नै लाग्ने गरेको पञ्चकोटका महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।
“विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’को गुरुयोजना बनाएर तीन वर्षअघिदेखि पूर्वाधार निर्माणको काम भइरहेको छ, आउँदा केही वर्षमा पञ्चकोटले पूर्णता पाउँछ, देशकै ठूलो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यसको विकास हुँदैछ,” उनले भने । पञ्चकोटमा ठूला संरचना निर्माणको चरणमा छन् भने गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, ‘सिस महल’ लगायतका स–साना मन्दिर निर्माण भइसकेका छन् । धामको सम्पूर्ण पूर्वाधार निर्माणमा करिब रु दुई अर्ब खर्च हुने बताइएको छ ।
एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमलनयनाचार्य संस्थापक रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत काम भइरहेको छ । सदरमुकामबाट सवारी साधनमा आधा घण्टामै पुग्न सकिने पञ्चकोट प्राकृतिक हिसाबले पनि मनोरम भूगोलमा अवस्थित छ । पञ्चकोट हिमशृङ्खलाको अवलोकनका लागि उत्तम गन्तव्य मानिन्छ ।
यहाँ विश्वकै अग्लो १०८ फिटको तामाको कलश निर्माण हुँदैछ ।
तस्विर आश तमु





