logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लमजुङको भुजुङ गाउँमा असोज १३ गते पर्यटन महोत्सव लाग्ने


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

पोखरा-समुद्री सतहवाट १ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित देशभरका ठूला गाउँमध्येको एक लमजुङको क्हाेँलासाेथर गाउँपालिका ४, भुजुङ गाउँमा पर्यटन महोत्सव लाग्ने भएको छ।भुजुङ गाउँका स्थानियहरू गाउँको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्न पर्यटन महोत्सव मनाउने तयारीमा पनि जुटिसकेका छन् ।

२०६४ सालमा प्रथम भुजुङ महोत्सवको आयोजना गरी पर्यटन प्रवद्र्धन थालेका स्थानीयले यसबर्ष पर्यटन महोत्सव मनाउने भएका हुन् । गाउँको पर्यटन प्रवद्र्धन गर्न र पर्यटन भ्रमण बर्ष २०२० लाई सफल बनाउन असोज १३, १४ र १५ गते महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।‘भुजुङ पर्यटन महोत्सवमा सहभागि बनौंं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको भुजुङ पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक तुलबहादुर गुरुङले बताउनुभयो । महोत्सव मार्फत भुजुङ गाउँको होमस्टे पर्यटन विकास गरिने, ग्रामीण पर्यटनको अवधारणालाई मुर्तरुप दिई स्थानीय जनताको आयआर्जनमा वृद्धि गराउने लक्ष्य लिइएको संयोजक गुरुङले बताए ।

महोत्सव मार्फत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा भुजुङ गाउँको प्रचारप्रसार गरि पर्यटनको प्रवद्र्धन गरिने, गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं सम्बद्र्धन गरिने, आर्थिक संकलन गरि भुजुङ गाउँमा पर्यटन प्रबद्र्धनको लागि पूर्वाधार विकास गर्ने भएको छ ।
महोत्सवमा पहिलो दिन असोज १३ गते उद्घाटन तथा सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित कृषि प्रदर्शनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुती रहनेछ । दोस्रो दिन असोज १४ गते ख्याति प्राप्त राष्ट्रिय कलाकारद्धारा दोहोरी तथा लोक गीत प्रस्तुति, सांस्कृतिक कार्यक्रम प्रस्तुति, तेस्रो दिन असोज १५ गते अतिथिहरुलाई सम्मान गर्दै मायांको चिनो प्रदानगर्ने कार्यक्रम छ ।

गाउँमा ९० प्रतिशत गुरुङ र वाँकी दलित समुदायको वसोवास रहेको छ । नेपालकै ठुलो गुरुङ गाउँमध्ये एक मानिने भुजुङका घरहरु एकै ठाउँमा गुचुमुचु भएर बसेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार