logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कास्कीमा नयाँ होमस्टे पदमार्ग ताङतिङ-करापुडाँडा-याङ्जाकोट खुल्यो


  • राजनीति
  • बुधबार, माघ १० २०७४

सुरेन्द्र राना- गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले यही माघ ५ देखि ९ गतेसम्म ताङतिङ-करापुडाँडा-याङ्जाकोट होमस्टे पदमार्गको अन्वेषण भ्रमण गर्दै पदमार्ग सुचारू गराएको छ।

ग्रामिण पर्यटनविद, भिटोफ कार्यसमितिका सदस्यहरू, पत्रकार, पथ प्रर्दशक, स्थानिय तथा पर्यटन ब्यवसायीको सहभागितामा उक्त पदमार्गको स्थलगत अन्वेशण गरेको हो।

पोखराबाट करिब २७ कि.मि. दूरिमा रहेको ताङतिङ होमस्टेहुँदै करापुडाँडामा क्याम्पिङ गर्दै याङजाकोट होमस्टे सम्मको ट्रेकिङ ट्रेलको अध्ययन भ्रमण गरेको हो।

ताङतिङबाट सुरू भएको उक्त कार्यक्रममा आमा समूहले न्यानो स्वागत गर्नुका साथै मादी गाँउपालिका प्रमुख बेद बहादुर गुरुङले पदमार्ग अन्बेषणको शिलान्यास गरेका थिए।

ताङतिङ होमस्टे

ताङतिङबाट करिब ५ घण्टा पूर्वोत्तर उकालो हिडेँपछि करापु डाँडा पुगिन्छ। गुराँसे जंगल, रंगी बिरंगी फूल, चराचुरुंगीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न सकिन्छ। नौंचु डाँडा, स्तुपा, नौजले डाँडा, भेडी गोठहुँदै ३०७७ मि. उचाईमा अवस्थित करापुडाँडासम्म पुगिन्छ।

यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुको साथै मनास्लु हिमाल, अन्नपूर्ण २, अन्नपूर्ण ४, अन्नपूर्ण ३ , माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथको सुन्दर दृश्यले रोमाञ्चक बनाउँछ।क्याम्पिङ साइटमा एउटा धर्मशाला छ जहाँ नजिकै पानीको श्रोत र क्याम्प बस्न मिल्ने सुविधा छ।

करापु भीरहुँदै याङ्जाकोट

करापु डाँडाबाट ओरालो करिब ४-५ घण्टा डाँडा र जंगलको बाटोहुँदै याङ्जाकोट पुगिन्छ। सुरुको करिब २० मिनेट बाटो भिरालो र अप्ठ्यारो छ, डोरीको आवस्यक पर्नसक्छ। यो ठाउँमा पदमार्ग सुधार र मर्मत गर्नु जरूरी छ।

क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरोहुँदै याङजाकोट पुगिन्छ।

याङजाकोट होमस्टे

कास्कीको मादी गाउँपालिका-३ मा पर्नै याङ्जाकोट गाँउ समुन्द्र सतहबाट १४७७ मि. उचाईमा छ। यहाँ गुरूङ, दलित र क्षेत्रीको २६० घरधुरी छन्।

गाँउमा कोइबारी (कोट) छ, जहाँ दसै र चैते दसैमा बलि चढाईन्छ।

छापाडाँडा भ्यू पोईन्टबाट अन्नपूर्ण, लमजुङ, माछापुछ्रे हिमाल नजिकै देखिन्छ।

होमस्टेका अध्यक्ष रोशन गुरुङका अनुसार गाउँका ८ घरमा होम्सटे सुविधा छ जहाँ २०० जना जति पाहुना अटाउँछन्। आन्तरिक तथा बिदेशी पाहुनाहरु प्रशस्तै आँउछन्, बिशेष गरि हिमाल र ढुंगे घरले पर्यटक लोभ्याउने गरेको गुरूङले बताए। होमस्टेमा लोकल परिकारको खाना पाँउछ, कृष्ण चरित्र, घाटु र सोरठी नाचगान हेर्न पाईन्छ।

अन्वेषण टोलीले पदमार्गको सूचना, उचाई मापन र होमस्टे जोड्ने स्थलगत भ्रमण, सम्भाव्यता अध्ययन र स्थानीयबासीसँग अन्तरकृया गरेका थिए।
नेपाल पर्यटन बोर्ड र टानको सहयोग तथा पोखरा भिटोफको सहकार्यमा अन्बेषण कार्यक्रम भएको थियो।

कार्यक्रमका संयोजक तथा भिटोफ नेपालका सह-कोषाध्यक्ष कृष्ण बहादुर सुवेदीले आगामी दिनमा यो रूटलाई अन्य होमस्टेहरु जस्तै भुजुङ, पसगाँउ र घलेगाँउसँग जोड्न सकिने बताए।

यस्तै अन्य होमस्टेलाई जोडेर बृहत्तर पदमार्ग अन्बेषण तथा प्रबर्धन कार्यलाई निरन्तर दिने उनले बताए।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गमा होमस्टेमा बास बसी स्थानीय रहन सहन, खानपिन साथै अन्नपूर्ण र मनास्लु हिमश्रृंखला नजिकबाट अबलोकन गर्न पाईने पदमार्गका मुख्य आकर्षण हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार