logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनमा म्याग्दीको घोडेपानी घुम्न आएका दुई पर्यटकको उद्धार गरेर क्वारेन्टाइनमा


  • रासस
  • शनिबार, बैशाख ६ २०७७

म्याग्दी – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।

घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन् । तीमध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए । पी ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (पुरुष) र जी ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

सन् २०२० मार्च १० तारिखका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुँदै घोडेपानी आइपुगेका हुन् । घोडेपानीबाट उनीहरुलाई भुरुङ तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

एकान्तवासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परीक्षण गरेर चिनियाँ राजदूतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । यसअघि लकडाउनकै अवधिमा अन्नपूर्ण गाउँपालिका–१ बेगमा दुई चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार