राजनीति
Photo:Prakash Chandra Timilsena
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एकैपटक १९ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।
सत्तारुढ दलको सिफारिसमा हुने ‘राजनीतिक नियुक्ति’ र परराष्ट्र मन्त्रालयका ‘करिअर डिप्लोम्याट’ सहित एकैपटक १८ जना राजदूतमा सिफारिस भएका हुन्। एकैपटक यति धेरै संख्यामा राजदूत सिफारिस भएको यो पहिलो नभए पनि दुर्लभ निर्णय भने हो।
त्यसमा पनि यसपटक दुई छिमेकी देश– भारत र चीन तथा शक्ति राष्ट्रहरू अमेरिका, रुस र बेलायतमा पनि राजदूत एकसाथ सिफारिस भएका छन्। भारतमा यसअघिका राजदूत डा शंकर शर्मालाई पुनः सिफारिस गरिएको छ भने चीनमा डा कृष्णप्रसाद ओली सिफारिस भएका छन्। त्यस्तै अमेरिकामा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन्। यीमध्ये शर्मा, रेग्मी र घिमिरे चिनिएकै नाम हुन् तर धेरैलाई ओली को हुन् भन्ने जिज्ञासा जागेको छ।
डा कृष्णप्रसाद ओली झापाकै बासिन्दा हुन्, जो प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका नातेदार हुन्। प्रधानमन्त्री ओलीले कृष्णप्रसादलाई काका सम्बोधन गर्छन्, ढोगभेट पनि गर्छन्।
लामो समय चीनमै बसेर अध्ययन अनुसन्धान गरेका भए पनि डा ओली काठमाडौँमा बिल्कुलै नयाँ नाम भने होइनन्। केपी ओली प्रधानमन्त्री रहेकै बेला उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए, सन् २०१७ मा। त्यसपछि प्रधानमन्त्री ओलीले आफू सरकारबाट बाहिरिनुअघि २०७८ वैशाखमा डा ओलीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेका थिए।
डा ओली वन तथा वातावरण क्षेत्रका विज्ञ हुन्। विकास र वातावरण संरक्षणको क्षेत्रमा उनको ३५–४० वर्ष लामो अनुभव रहेको छ। खासगरी हिन्दु–कुश हिमालय क्षेत्रमा ओलीको विज्ञता रहेको छ। उनी वातावरणीय कानुन, वातावरणीय योजना र व्यवस्थापन तथा कृषि भूगोल र पशु विज्ञानका विज्ञ हुन्।
एसियाली विकास बैंक लगायतका संस्थामा उनले परामर्शदाता भएर काम गरेका छन्।