राजनीति
इजरायलले प्यालेस्टाइनमाथि गरिरहेका हमलाको विरोधमा नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत हुन माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा राजनीतिक दल र संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै नेपालले तटस्थ परराष्ट्र नीतिमा परिवर्तन गरी अन्यायको पक्षमा आवाज उठाउनुपर्ने आग्रह गरेका छन्।
ज्ञापनपत्रमा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा अन्यायमा परेका पक्षको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्न, हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीलाई उद्धार गर्न, र इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि ठोस कदम चाल्न आग्रह गरिएको छ।
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र न्यायको पक्षमा दृढ रहेको र तटस्थता भनेको शक्तिशालीको अत्याचार सहेर बस्ने नभएको प्रस्ट पारे। प्रधानमन्त्रीसमक्ष प्रगतिशील रुपान्तरण नेपालका संयोजक श्याम श्रेष्ठले ज्ञापनपत्र वाचन गरेका थिए ।
भेटमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ,क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता सी पी गजुरेल,राष्ट्रिय क्रान्तिकारी मोर्चाका लोकनारायण सुवेदी,पिपुल्स हेल्थ मुभमेन्टका नेपालका शरद वन्त, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, जनता समाजवादी पार्टी नेपालका अर्जुन थापा, श्रमिक कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख लोकेश बिश्वकर्मा, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख राजेश नेपाली, नेकपा (विप्लव)का अन्तर्राष्ट्रिय बिभागका नेता खगेश्वर केसी लगायतको सहभागिता रहेको थियो ।