logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाबुरामको शपथ ग्रहणमा बबाल !


  • राजनीति
  • शुक्रबार, फाल्गुन २ २०८१

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को शपथ ग्रहण समारोहमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका क्रममा एक व्यक्तिले कार्यक्रम बिथोल्ने प्रयास गरेका छन्।

महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो, जसमा डा. बाबुराम भट्टराई अध्यक्ष निर्वाचित भएका छन्। साँझ प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण समारोह चलिरहेको बेला एक व्यक्ति मञ्चमा पुगेर डा. भट्टराईसँग आक्रोशित हुँदै विवाद गर्न थाल्छन्। बाबुरामले ‘बस्नुस्, बस्नुस्’ भन्दै सम्झाउने प्रयास गरे पनि ती व्यक्ति अझै उत्तेजित देखिन्थे।

स्थिति जटिल बन्दै गएपछि बाबुरामकी छोरी तथा नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराई हस्तक्षेप गर्दै ती व्यक्तिलाई शान्त गराउने प्रयास गर्छिन्। केहीबेर मौन रहेका ती व्यक्ति पुनः मञ्चमा गएर डा. बाबुरामतिर औंला ठड्याउँदै कराउन थाल्छन्। बाबुरामले ‘तपाईंले बेइज्जत नगर्नुस्, कृपया बस्नुस्’ भन्दै सम्झाएपछि उनले कुनै व्यक्तिगत असन्तुष्टि व्यक्त गरिरहेका हुनसक्ने अनुमान गरिएको छ।

त्यसपछि, बाबुराम मञ्चबाटै ‘बस्नुस् न यार, कस्तो मान्छे तपाईं’ भन्दै ती व्यक्तिलाई सम्झाउने प्रयास गर्छन्, तर ती व्यक्ति कराइरहेकै हुन्छन्। अन्ततः आक्रोशित हुँदै बाबुरामले कार्यकर्तालाई ‘उहाँलाई उता लैजानुस्’ भन्दै निर्देशन दिन्छन्। बाबुराम मञ्चबाट बाहिर निस्कने तरखरमा थिए, तर छोरी मानुषीले उनलाई केही सम्झाएपछि उनले आफ्नो निर्णय परिवर्तन गरे। बाबुरामले पुनः ‘उहाँलाई बाहिर लैजानुस्’ भन्दै निर्देशन दिए।

त्यसपछि केहीबेर चलेको होहल्लापछि शपथ ग्रहण प्रक्रिया पुनः सुरु भयो। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा विवादको वास्तविक कारण भने खुल्न सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार