राजनीति
काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको प्रदर्शन हिंसामा परिणत भएपछि पक्राउ परेका आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले प्रहरी समक्ष बयान दिएका छन् ।
प्रसाईंले उक्त आन्दोलन पहिले नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ता र सन्तोष राजावादीको टीमले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको बयान दिएका छन् । प्रहरी समक्ष प्रसाईंले दिएको बयानमा राजसंस्था पुनः स्थापना गर्न भनि गरिएको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गा प्रहार गरेका कारण बल प्रयोग गरिएको उल्लेख गरिएको छ ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दाको बयानमा प्रसाईंले कार्यक्रम स्थलभन्दा ३ सय मिटरमाथिबाट प्रहरीमाथि ढुङ्गा प्रहार भएको उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा आफूले संसद कब्जा गर्छु पनि दिएको अभिव्यक्ति प्रहरीले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगका कारण आफूले आवेगमा आएर दिएको अभिव्यक्ति भनेर प्रसाईंले दिएको बयानमा उल्लेख गरिएको छ ।
प्रसाईंले बयानमा भनेका छन्, “म आफू कार्यक्रम उद्घाटन गर्न आएको र कार्यक्रम सुरु गर्न नपाई जनआन्दोलन परिचालन संयोजकसमेत रहेका धवलशम्शेर राणा, सोही संगठनका सदस्यसचिव रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ता र सन्तोष राजावादीको टीमले समेतले कार्यक्रम स्थलभन्दा ३०० मिटर जति टाढा रहेको प्रहरीसँग अन्दाजी ४५ मिनेट अगाडि नै म घरबाट निस्कनासाथ निजहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेको कारण प्रहरीले घरका छत तथा भुईंबाट अश्रुग्यास तथा गोली प्रहार गरी कार्यक्रम गर्न तयार पारिएको मञ्च लगायत घोषणासभामा भेला भएका सर्वसाधारण मानिसहरू बसेको ठाउँ महाभारतको कुरुक्षेत्र जस्तो रणभूमी बनाइ दिएको कारण म भावआवेगमा आई सो कुरा बोलेको हुँ ।”
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको सदस्य तथा आन्दोलनको जनकमाण्डर भई कार्य विभाजनको काम मात्र आफूले गरेको उनले बयानमा भनेका छन् ।
प्रसाईंले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आगजनी, लुटपाट र तोडफोड गरेको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बयान दिएका छन् । प्रहरीसमक्ष दिएको बयानमा चैत १४ मा शाहलाई निर्मल निवासमा भेटेको प्रसाईंको बयान छ ।
प्रसाईंले ज्ञानेन्द्र शाहलाई भेटेपछि नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिले प्रसाईंलाई आन्दोलनको जनकमाण्डर तोकेको थियो । चैत्र १५ गते राजवादीहरुले गरेको प्रदर्शन हिंसामा परिणत भएपछि २ जनाको मृत्यु भएको थियो । त्यस्तै प्रदर्शनमा उत्रिएका राजावादीहरुले व्यत्तिका निजी घरमा आगजनी र तोडफोडन गर्नुको साथै लुटपाट समेत मच्चाएका थिए ।
यस घटनामा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको थियो । अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आज जिल्ला अदालतमा आन्दोलनका जनकमाण्डर तोकिएका प्रसाईंसहितलाई मुद्दा दर्ता गरेको हो ।