राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिने न्यायाथिमाथि छलफल गर्नको लागि न्यायपरिषद्को बैठक बस्ने भएको छ ।
परिषद् स्रोतका अनुसार न्यायपरिषद्को बैठकमा आलमसहित ४ जनालाई सफाइ दिने न्यायाधीश र केही न्यायाधीश नियुक्तिको सिफारिस लगायतका विषयमा छलफल गर्नको लागि न्यायपरिषद्को बैठक बस्न लागेको हो ।
रौतहटमा बम विस्फोटका अभियुक्त आलमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतको आदेशलाई बधुवार उच्च अदालत जनकपुर, अस्थायी इजालस वीरगञ्जका न्यायाधिशद्धय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले उल्टाएर सफाइ दिएको थियो । यो सँगै आलम रिहा भएका छन् ।
उच्च अदालतले आलमलाई रिहा गर्ने आदेश दिएपछि न्यायपरिषद्मा उच्च अदालतका न्यायाधीशद्धय डा. थारु र महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित उजुरी परेको हो । न्यायपरिषद्ले मुद्दाको मिसिलसमेत मगाइसकेको छ । फैसलाको पूर्णपाठ तयार नभएकाले उच्च अदालतको वीरगञ्ज इजलासपबाट रायकिताबको प्रतिलिपी समेत मगाइएको परिषद् स्रोतले बतायो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको न्यायपरिषद्मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, सदस्यहरू रामप्रसाद भण्डारी र दामोदर खड्का अनि कानूनमन्त्री अजयकुमार चौरसिया सदस्य छन् ।
परिषद् स्रोतका अनुसार, न्यायाधीशद्वय थारु र महर्जनलाई परिषद्मै तानेर छानबिन गर्नुपर्ने तहको प्रस्ताव पेस गर्ने तयारी छ ।