राजनीति
काठमाडौं । सामाजिक सञ्जालमा सरकारले लाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा देखि नयाँ बानेश्वर सम्म प्रदर्शन गरिरहेका छन् ।
आज बिहान माइतीघर मण्डलामा उपस्थित भएका ‘जेन–जी’ पुस्ताले माइतीघरमा प्रदर्शन गरेसँगै र्यालीसहित नयाँबानेश्वर क्षेत्र पुगेका छन् । सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासन लगायत विभिन्न एजेन्डासहित कलेज ड्रेसमै ‘जेन–जी’ पुस्ता प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले ‘आवर फ्युचर इज नट फर सेल’, ‘से नो टु करप्सन’, ‘जेन-जी हेयर-फ्युचर क्लियर’ जस्ता प्ले-कार्ड बोकेका छन् । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो।
‘जेन–जी’ पुस्ता अहिले बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।