राजनीति
काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल सहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
कास्की जिल्ला स्थित सरकारी विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको भन्दै तत्कालीन अध्यक्ष पोखरेलसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
आयोगका अनुसार पोखरा महानगरपालिका २६ मा रहेको अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक परिसर भित्रको कित्ता नम्बर ७२५ को ३–३–०–० नम्बरको जग्गा गैर सुकुम्बासी व्यक्तिलाई सुकुम्बासी ठहर गरी दर्ता गराइएको पाइएको हो। उक्त कार्यमा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा लाभ लिने दिने उद्देश्यले निर्णय भएको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रममा प्रतिवादी भीमबहादुर बिक सुकुम्बासीको परिभाषाभित्र नपर्ने व्यक्ति भएको उनका परिवारका नाममा पहिले जग्गा दर्ता भएको तथ्य हुँदाहुँदै झुटा विवरणका आधारमा सुकुम्बासी प्रमाणित गरेको आयोगले जनाएको छ ।
भीमबहादुर बिकले आफ्नी पत्नी सुकमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले यस प्रकरणमा १ करोड ४० लाख २५ हजार बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।