राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठीत अपराध सम्बन्धी मुद्धामा फेला परेका भनिएका थप प्रमाण र कागजातहरु पेश गर्न महान्यायाधीवक्ताको कार्यालयलाई आदेश दिएको छ ।
आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्धय डा.मनोज कुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अभियोगपत्र दायर भएपछि थप प्रमाण, कागजात फेला परेकोले मुद्धा संशोधन प्रक्रियामा लैजान मातहत सरकारी वकिललाई निर्देशन दिइएको दाबी गरेकी थिइन् ।
महान्यायाधीवक्ता कार्यालयले मुद्धा संशोधनका लागि गरेको निर्णय अवैध रहेको दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल र कानूनका विद्यार्थी आयुष बडालल लगायतले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । अब यो विवादमा महान्यायाधिक्ता कार्यालयबाट थप कागज प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे टुंगो लाग्नेछ ।
“यसमा महान्यायाधीवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भैसकेपश्चात् थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनु भएकोले उक्त अभियोगपत्र संशोधनको सम्बन्धमा फेला परेका थप संकलन प्रमाण कागजातहरु महान्यायाधीवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला,” सर्वाेच्च अदालतद्धारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।
