राजनीति
एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले चीनको अन्तरिक्ष अभियान चांग’अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको जनाएको छ।कुनै पनि जैविक पदार्थ चन्द्रमामा उम्रिएको यो पहिलो घटना हो।
चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार छ।
गत ३ जेनुअरीका दिन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने चीनको चांग’अ फोर नामको अन्तरिक्ष वाहन पहिलो वाहन बनेको थियो।
चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष वाहनले आफ्नो साथमा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लगायतका वस्तु लिएर गएको थियो।
त्यसरी उम्रिएको बिरुवा सो चन्द्र वाहनमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको छ।
अब उक्त बिरुवाले त्यस्तो भाँडाभित्र एक सूक्ष्म जैविक मण्डलको सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा त्यो आफै हुर्कनेछ।
१८ सेन्टिमिटर अग्लो र ३ केजी तौल भएको त्यस्तो कृत्रिम जैविक मण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए।
उक्त प्रयोगात्मक भाँडामा सूक्ष्म जीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ।
तर वैज्ञानिकहरूका अनुसार माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म उतारचढाव भइरहने चन्द्र सतहको तापक्रममा बिरुवा हुर्कनलाई उपयुक्त हुने तापक्रम कायम राख्नु सबैभन्दा ठूलो चुनौती हो। बीबीसीबाट