राजनीति
गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्न लागिएको छ,जसमा मुख्यगरी अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ ।
नेपाल पर्यटन बोर्ड,काठमाडौंस्थित चिनियाँ दूतावास,लुम्बिनी विकास कोष,नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त तत्वावधानमा शुक्रबार र शनिबार हुने कार्यक्रमका सहआयोजकहरुमा नेपाल ओभरसिज चाइनिज एशोसिएसन, लुम्बिनीको चोङ हुवा गुम्बा र लुम्बिनी होटल एशोसिएसन छन् ।
महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्ने आयोजकहरुले विश्वास लिएका छन् । साथै, महोत्सवले नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने उनीहरूको दावी छ ।
विश्व सम्पदासूचीमा समाविस्ट लुम्बिनीमा आयोजित महोत्सवको दोस्रो दिन बिहान पवित्र बगैंचामा एक सय जना भिक्षु र ४०० जना भन्दा बढीको सहभागितामा ध्यान गरिने छ । अघिल्लो दिन शान्ति र खेलकुद विषयमा सेमिनार राखिएको छ भने भोलिपल्ट बिहान चार विधामा म्याराथुन दौड हुँदैछ ।
म्याराथुनमा सहभागी हुनेमध्ये तोकिएको दूरी पूरा गर्ने १० जना पुरुष,आधा दूरी पूरा गर्ने तीन जना महिला र विद्यार्थी तथा अन्य सहभागीमध्ये तीन जनालाई पुरस्कृत गरिने जानकारी दिइएको छ । म्याराथुनमा विजयी हुने सबैलाई कूल १९ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
लुम्बिनी महोत्सवबारे चीनमा पनि व्यापक प्रचार र प्रवर्धन गरिँदै छ । उक्त कार्य नेपालस्थित चिनियाँ दूतावासले गर्ने आयोजक संस्थाले बताएको छ । म्याराथुनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु,चिनियाँ प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिज्ञ,कलाकार,संघीय तथा प्रदेश कार्यालयका अधिकारीहरु, पर्यटन क्षेत्रका व्यक्तिको उल्लेख्य सहभागिताको लागि आवश्यक तयारी गरिएको छ ।
म्याराथुन प्रतियोगिता लुम्बिनी बुद्धिस्ट विश्वविद्यालय,युन्नान माउन्टेनिरिङ एण्ड आउटडुअर स्पोर्टस एसोसिएसन,प्रदेश पर्यटन विकास परिषद र ग्रीनरोड संस्थाको सहयोगमा हुन लागेको हो ।
त्यस्तै धनुषवाण,कुस्तीलगायत खेलको पनि प्रदर्शनी गरिँदै छ । महोत्सवको दोस्रो दिन शनिबार लुम्बिनी स्क्वायर थिएटरमा कन्सर्ट राखिएको छ । कन्सर्टमा गायिका आनी छोइङ डोल्मा,चिनियाँ गायिका उलान तुयालगायतले आफ्नो प्रस्तुति दिनेछन् ।