logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ट्रम्पले जब पत्रकार सम्मेलनमै पुटिनसँग भने– हाम्रो चुनावमा हस्तक्षेप नगर्नु


  • एजेन्सी
  • शनिबार, असार १४ २०७६

एजेन्सी । जापानको ओसाकामा जी २० को शिखर सम्मेलन भइरहेको छ । सम्मेलन दौरान शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिभीर पुटिनबीच भेट वार्ता भयो ।

भेटघाटपछि दुई नेता पत्रकार सम्मेलनमा सहभागी भए । त्यस क्रममा ट्रम्पलाई पत्रकारले अमेरिकी राष्ट्रपति चुनावमा रुसको हस्तक्षपबारे प्रश्न गरे । जबाफमा ट्रम्पले ठट्यौली शैलीमा पुटिनतर्फ फर्किएर भने, अमेरिकी चुनावमा हस्तक्षेप नगर्नु होला ।

जी २० को शिखर सम्मेलनमा सहभागी हुन ओसाका पुगेका सदस्य देशका प्रतिनिधिहरु साइडलाइनमा एक अर्कासँग कुराकानी गरिरहेका छन् । यही सिलसिलामा पुटिन र ट्रम्पको भेटवार्ता भएको थियो ।

भेटबारे जानकारी दिन दुई नेताले मिडियासँग छलफल गरेका थिए । त्यस क्रममा एक पत्रकारले ट्रम्पसँग सोधे, ‘तपाईं पुटिनलाई सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षे नगर्न भन्नुहुन्छ ?’

जवाफमा ट्रम्पले जिस्केजस्तो गरेर पुटिनसँग भने, ‘कृपया, तपाईं हाम्रो चुनावमा हस्तक्षेप नगरिदिनुस् ।’

ट्रम्पको भनाईमा पुटिन मुसुक्क हाँसे मात्र, केही बोलेनन् । सन् २०१६ को चुनावबारे रोबर्ट मुलरले गरेको एउटा अनुसन्धानमा अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको उल्लेख छ । मुलरको जाँच बाहिरपछि ट्रम्प र पुटिनको यो पहिलो भेटघाट हो ।

अमेरिकी गुप्तचर संस्थाहरुले पनि रुसले अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित गर्नको लागि साइबर आक्रमण गरेको बताएको छ । समाजिक सञ्जालमा ठूलो परिमाणमा फेक न्युजको प्रयोग गरेर मतदातालाई प्रभावित पारेको ती निकायले बताए ।

तर मुलरको रिपोर्टले चुनाव प्रभावित पार्नको लागि रुस र ट्रम्पबीच गठजोड भएको प्रमाण भने जुटाउन सकेन ।

जी २० विश्वको सबैभन्दा ठूला र तीव्र रुपमा वृद्धि भइरहेको अर्थव्यवस्था भएको देशको समूह हो । समूहका देशका नेता वार्षिक रुपमा भेला भएर जल्दोबल्दो विषयमा छलफल गर्ने गर्छन् ।

यो वर्षको बैठकमा जलवायु परिवर्तन, इरान, व्यापार संरक्षणवाद र अन्तराष्ट्रिय व्यापार प्रमुख मुद्दा हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार