पुर्व मन्त्री तथा जनयुद्धकालका प्रचण्डका बिस्वास पात्र रविन्द्र श्रेष्ठले विप्लव नेतृत्वको नेकपामाथीकाे प्रतिबन्ध अन्तर्राष्ट्रिय शक्तिकेन्द्र काे इसरामा भएकाे बताएका छन् उनले प्रतिबन्ध का रहस्यहरु भन्ने शिर्षककाे एक लेख मार्फत साे कुरा वताएका हुन ।
उनले लेखेका छन ‘विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म कुनै सरकारी सुरक्षा फौजमाथि आक्रमण गरेको छैन। छिटफुट विस्फोटहरु गरेपनि बन्दुक प्रयोग गरेर ०५२ सालमा जस्तै जनयुद्धको शुरुवात गरेको घोषणा पनि गरेको छैन। सो विद्रोही पार्टीको एक जना नेताको डायरीमा अस्पष्ट कोड भाषामा प्रचण्ड र सरकारका केही ठूला नेताहरु को नाम सफायाको लिष्टमा रहेकोले प्रतिवन्ध र अपराधिक समूह घोषणा गरिएको भन्ने तर्क पनि आएको छ। सेनासंग मात्र रहेको उच्च स्तरका हतियार विप्लव नेतृत्वका कार्यकर्ताहरुवाट जफत भएको घटनालाई पनि प्रतिवन्ध घोषणासंग जोड्न खोजिएको छ। तर विप्लव नेतृत्वको नेकपासंग प्रचण्डले भावि विद्रोहकालागि भनेर लुकाएर नवुझाएका हतियारहरु रहेको कुरा ओली प्रचण्ड सरकारलाई पहिले पनि थाहा भएकै कुरा थियो। यसैवेला आएर किन प्रतिवन्धको घोषणा गर्नु पर्यो भन्ने विषय पनि रहस्यमय वनेकोछ। सो पार्टीले अहिले भएका विष्फोटका घटनाहरु भन्दा अगाडि पनि विष्फोटका हिंसात्मक कामहरु गरेको थियो। त्यो वेला प्रतिवन्धको घोषणा नगरेर अहिले आएर किन घोषणा गरियो भन्ने कुरा विशेष महत्वको रहेकोछ। तसर्थ यसको अन्तर्यमा धेरै गम्भीर कारणहरु लुकेको देखिन्छ।’
प्रतिबन्धका भित्रि ५ रहस्यहरु
पहिलो, ओली सरकारको एक वर्षको प्रगति भनेर नियम कानुनहरु वनाइयो, संघीयता र विकासको जग वसाइयो भनेर जतिसुकै प्रचार गरेपनि चुनावी प्रतिवद्धता र जनताको अपेक्षा अनुसार काम भएका छैनन् भन्ने तथ्य घाम जतिकै छर्लङ्ग छ। जनतामा असन्तोष र अविश्वास वढेको छ। जनताको असन्तोष, अविश्वासले विद्रोहको रुप नलेओस् भनेर जनताको ध्यान अन्तै मोड्न देशलाई गृहयुद्धमा धकेल्ने कुनियत सरकारी नेकपा र सरकारका ठूला केही नेताहरुमा पलाएको हुन सक्दछ। ओली प्रचण्ड सरकारले देशमा आर्थिक क्रान्ति गर्न असक्षम भएको र सुशासन चलाउन नालायक भएको स्पष्ट हुँदै गएको स्थितिमा (कुशासन त वढी रहेकै छ) आफ्नो कमजोरी लुकाउन र दोष विप्लव नेतृत्वको नेकपामाथि थोपर्न पनि दोश्रो चरणको गृहयुद्ध निम्त्याउन खोजेको हुन सक्दछ।
दोश्रो, संसारमा सवभन्दा धेरै नाफा हुने व्यापार भनेको हतियारको व्यापार हो। हामी जनयुद्धमा छँदा नेकपा (एमाले) कै केही ठूला नेताले समेत हामीलाई हतियार दिने विदेशी शक्तिहरु आएको र भेट्न खोजेको कुरा वताउनु भएको थियो। जनयुद्धको तयारी भैरहँदा पनि नेपालको अन्तराष्ट्रिय विमानस्थलवाटै हतियार दिन्छौ भनेर समेत मान्छेहरु आएका थिए। तर ती श्रोतहरुवाट हामीले हतियार लिएनौं, हतियार सरकारवाटै कब्जा गर्ने नीति नै सही हो भन्ने हाम्रो अडान रह्यो। अहिले पनि हतियार वेच्ने ठूला शक्तिहरुले सरकारी नेकपा र सरकारका केही ठूला मान्छेहरुलाई विप्लव समूहमाथि दमन गरेर समस्या समाधान गर्न सकिन्छ भन्दै नेपालमा गृहयुद्ध भड्काउन लगाएर आफ्नो हतियार वेच्ने र यहाँका केही ठूला वडालाई अरबौंको कमिशन पनि दिने लोभ देखाएको हुन सक्दछ।
तेश्रो, जेठ ३ गते भएको पार्टी एकता ११ महिना भैसक्दा पनि पूरा गर्न नसक्नुले सरकारी नेकपा भित्र तीब्र कट थ्रोट गुटवन्दी (एकले अर्कोलाई सिध्याउने खालको गुटवन्दी) छ भन्ने स्पष्टै छ। पार्टी र सरकारको नेतृत्वका लागि काटाकाट मारामारको स्थिति छ। पार्टी भित्रको ओली समूह भित्रको पनि सानो भूमिगत समूहले ओली कामरेडलाई ढाल वनाउँदै पार्टी र सरकारको सत्ता दीर्घकालसम्म आफ्नै कब्जामा रहोस् भन्ने तुच्छ उद्देश्य राखेर देशलाई गृहयुद्धमा धकेल्न खोजेको पनि हुन सक्दछ। गृहयुद्ध शुरु भएमा त्यसलाई वहाना वनाएर प्रचण्डसंगको आधा आधा समय सरकारको नेतृत्व गर्ने ओली प्रचण्ड सहमति तोडेर विशेष आवश्यकताका नाममा ओलीलाई नै ५ वर्ष प्रधानमन्त्री वनाइ राखेर ओलीलाई ढालको रुपमा प्रयोग गरी आफ्नो दुनो सोझ्याउने खेल पनि हुन सक्दछ।
चौथो, नेपालमा भारत, चीन, युरोप, अमेरिका जस्ता शक्तिहरुले राजनीतिमा आफ्नो प्रभाव जमाउन कोशिस गरिरहेको विगत इतिहास छ। यो शक्ति संघर्ष आन्तरिक रुपमा निकै तीब्र र भयावह छ। यसैको परिणाम स्वरुप अहिले कुनै विदेशी शक्तिकेन्द्रको इसारा र आडमा सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको सम्भावना पनि नकार्न सकिन्न।
पाँचौं, कार्ल माक्र्सलाइ मनपर्ने एउटा अंग्रेजी उखानमा जस्तो भएको पनि हुन सक्दछ। नर्क जाने वाटोपनि राम्रो नियतले वनाएको हुन्छ। अर्थात, नियत राम्रै भएरपनि मुर्खताले गर्दा ओली सरकारले नर्क तिर जाने वाटोमा नेपाल र नेपालीलाई लान खोजेको हुन सक्दछ।