प्रिय बन्द बिरोधी बिद्वान रबिन्द्र ।
तपाईलाई यो न्याय मागीरहेको सडकमा हार्दिक स्वागत छ ।।
आज १० गते शनिबार मात्रै होइन १० वर्ष अगाडी ४ हजार बढी जनमुक्ति सेनालाइ अयोग्य बनाएर रुवाउदै घर पठाएको कालो दिन पनि हो । यो दिन सहिद,वेपत्ता, घाइतेयोद्धा सबैमा बिशेष स्मरण सहित सम्मान !
रबिन्द्र जी,
आज तपाइको अफिस बन्द छ अर्थात आज डलर डकार्ने दिन होला । त्यसैले तपाई हिजो राति सुखद शुक्रवारको मौका छोपेर बन्द बिरोधी प्लेकार्डको डिजाइन पक्कै गरेकै हुनुहोला । किनभने अधिकार र मुक्तिको लागी गरिने संघर्षमा नेपाल खुल्ला भएको प्रायोजित अभिनय गर्ने जिम्मा तपाइ जस्ता केही मनुवाहरुलाइ परेको धेरै भैसकेको छ ।
मलाइ लाग्दैन कोही व्यक्ति बन्दको महत्वाकांक्षा सहित जन्मेको हुन्छ । जव सामाजिक पर्खालहले अगाडी बढ्न बन्देज गर्दछ ,जव राजनीतिले रगतको माग गर्दछ अनी युवाहरु सडकमा नेपाल बन्दको रातो कफन बाँधेर पोखिन्छन । शान्ति प्रिय मित्र सजग भएर आफ्नै मगजले एक पटक एयरपोर्ट तिर फर्केर हेर्नुस् आफ्नै देश भाडाका मान्छे उत्पादन गर्ने मुलुक भएको देख्दा तपाईंको स्वाभिमान कहा उचो हुन्छ होला र ? सपना बोकेर उडेकाहरु दैनिक सपना मारेर कफिनमा आउदा के तपाँइ छुदैन र ? के दिनहुँ सिमानामा आमा दिदि बहिनिहरु वलात्कृत हुदा, दाजुभाइहरु ढल्दा तपाईंको मन मर्माहित हुदैन र ?
मलाइ यस्तो लाग्छ यि दृश्यले नछुने सायदै कोहि नेपाली छ । मात्र कुरा के हो भने कोहि त्यही घटनाको मुल्य सोच्दछन कोहि त्यसबाट सदैव मुक्ति खोज्दछन । आजको मुख्य संघर्ष पनि यहि केन्द्रित बन्दै छ । दलाल बन्ने या दलाल मुक्त मुलुक बनाउने ?
परिस्थितिले आसुको होइन आवेग र प्रतिरोधको माग गरिरहेको छ । तर हामी बिचार र भावना लाइ मिसमास गरेर खिचडी पकाइरहेछौ । जनताको जिम्मा लिनु पर्ने राज्य जनतालाइ रैती र पराइ शासकलाइ देवता मानिरहेको छ । अझ भनौ कुर्सीका लागी कुदाकुद चलिरहेकै छ । यो राज्य व्यवस्था संचालनको दलाल संसदिय बिधि हो । जसका विरुद्धमा अविराम विप्लव गर्नु अनिवार्य छ ।
रबिन्द्र जी,
तपाइलाइ थाहै होला देश यतिवेला निकै संकटबाट गुज्रिएको छ । अझ भनौ लामो संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र समावेशीता नै गुम्ने खतराको सन्निकट छ । तपाइलाई याद होला बिबिसीको हट सिटमा बसेर अन्टसन्ट प्रश्न सोधेकै भरमा गणतन्त्र आएको होइन । त्यसमा हजारौं जनताको त्याग,तपस्या र बलिदानीको अभुतपुर्व योगदान रहेको छ ।
हो तपाइहरुलाइ पनि यहाँ बोल्ने स्वतन्त्रता छ तर याद गर्नुस् मनपरी बोल्ने छुट भने छदै छैन । हुनसक्छ कतै पुरानो लम्बे कोट लगाउन पाइन्छ भन्ने सोच पलाएको भए त्यो त्याग्दा हुन्छ किनभने इतिहासको चक्का पछि फर्काउन खोज्ने आफै किचिच्ने खतरा हुन्छ । यो जिवित इतिहास नै हो । मेरो शुवेच्छा हामी कसैको सवालमा त्यस्तो नहोस । त्यसैले यहाँ जुन जनताले लडेर गणतन्त्र ल्यायो उसैलाइ गलहत्याउन खोजे बिरालोले घाँटी समात्छ भने जनताले के गर्लान आफै अनुमान गर्नुस् ।
केही समय पहिला हामी मिलेर अचम्मै गर्छौ भनेकाहरु आज सिंग फुकाल्ने लडाईमा छन । यति सम्म की त्यही जुधाइले अहिले बाटो हिडदा पनि जनतालाइ जोग्गिन धौ हुन लागेको छ । तपाइका जस्ता कोठरी टाइपका पार्टी पनि फुट्ने र जोडिने चलेकै छ । सक्नुहुन्छ भने आफै धुमधाम सहभागी भएको अहिलेकै संबिधानलाइ न्याय दिनुस । यदी त्यो सक्नुहुन्न भने जनताको मार्गमा मधौरे मस्तिष्क सहित उभिएर संक्रमीत नगर्नुस् ।
म त मधेसमा मारिने कालो रंगको नेपाली भाइलाइ धोती मारियो लेख्न सक्दिन । पहाडमा सामाजिक विकृती कारणले हत्या भएका युवाको मृत शरीर हेरेर दलित पो रहेछ भनेर सहन सक्दिन । पश्चिमको छाउ गोठमा हुर्कदै गरेकी युवती सर्पको शिकार बन्दै गर्दा डोटेली मरिछ भन्न सक्दिन । अनी हिमालमा शेर्पा दाई औषधी नपाएर मर्दा भोटे मरेछ भनेर निदाउन सक्दिन । बिद्धान मित्र यस्तो बिशेषता तिमिबाट सिक्न सक्दीन । हो म यही र यस्तै कारणहरुले गर्दा तिम्रो चिल्लो व्यवस्थाको बागी बनिरहेछु । तिमि जस्तै गरिवको पेटमा लात मार्ने शान्तिप्रीय भारदारी सेना हुन सक्दिन ।
थाहा छ बन्दको पक्ष र विपक्षमा विभिन्न वक्तव्यहरु सामाजिक संजालमा फ्याँकिएका छन् । धेरै टेलिभिजनका पर्दाहरुमा खोजिखोजी फाटेका झुत्रे जीवनहरुलाई हेडलाइन बनाइको छ । भाडाको थोत्रो कोठामा बस्नेहरुसँग न त रंगीन एलइडी टेलिभिजन नै हुन्छ न त डिजिटल रेडियो । त्यसैलै तिम्रो व्यापारसँग गरिवहरुको खास लेनदेन नै हुँदैन । आजको दिन तिम्रो पर्दामा देखिने गरिव जीवनले हिजो कसरी छाक कसरी टार्यो या कति भोकै रह्यो कहिल्यै सुर्ता नहुनेलाई आजविहानै देखी मुटु पोलिरहेको छ । अनी बोल्दै छन् खान पाएनन् अनी जान पाएनन् भनेर । म तिमी जस्तो अभिनय कलामा पोख्त छैन । त्यसैले तारे होटेलमा गरिवको सपना बेच्न सकिरहेको छैन । अनी कुनै दुष्ट छिमेकीले घरमै छिरेर गोलि दाग्दा समेत शान्तीप्रीय, शालिन र सभ्य बन्नु पनि छैन ।
मलाई त्यस्तो कुनै ज्ञानी हुनु छैन की कंचनपुरमा निर्मला मारिदा नबोल्ने, रुकुममा दलित युवाको रेटिदा रमाउने, सिमानामा नेपाली कुटिदा कथा भन्ने अनि दिनहु प्रभुकै आरती उतार्नेहरु सग नक्कली बौद्धिकता सापटी लिन सक्दिन न त सेल्फी खिच्न सक्छु ।
त्यसैले म मुर्ख हुँ यो राज्य व्यवस्था विरुद्धको । म पागल हु तिम्रो षडयन्त्र खिलापको । त्यसैले मेरो अनुरोध र आग्रह छ तिमीले आजको दिन सडकमा गाडी छोडेर भत्ता पचाउन आँउदा अनुहार बिग्रिने चिन्ता गर्नु भन्दा ओरिजिनल कम्पनीको लोसन लगाएर घाम तापेकै जाती होला । कृपया त्यसको भयले केही पाउ घट्नु भन्दा निगम बजारी हलबाट अन्तरवार्ता दिँदा केही राहत मिल्ला ।
थोरै सोच्छु र धेरै खुशी हुन्छु र समय र प्रकृतिलाई नमन गर्दछु । किनकी तिम्रै जस्तै चेतना र चातुर्यता बोकेका मान्छे राणाकालमा जन्मेको थियो भने यो देशमा आज राणा शासनले दुइ शताब्दी सफलताको कक्टेल पार्टी दिएको हुन्थ्यो । अनी तिम्रै अनुहारको ज्ञान र गुणको मान्छे उहीबेला जन्मेको भए सायद इष्टइण्डिया कम्पनीको गुलाम प्रान्त बनेर सेवा गरिरहेको हुने थियौ । त्यसैले तिमी यतीबेला हुर्किएर हर्षित बनाएका छौ ताकी हामीले तिम्रो षडयन्त्रको समाधान पत्ता लगाइसकेका छौं त्यो जनताले छिट्टै सार्वजनिक गर्नेछन ।
अन्त्यमा बिद्धान मित्र शान्तिवाटिकामा उभिएर होस या माइतीघरमा कुर्लिएर सदियौं देखी बन्द रहेको नेपाल खुल्दैन । नेपाल त्यो बेला मात्र खुल्नेछ जुनदिन दलाल राज्यव्यवस्थाको नजरबन्दबाट नेपाली जनता पुर्णतः मुक्त हुनेछन । कृपया अनुरोध छ मालिकहरुको सेवाको खातिर लम्पसार पर्न छाडेर जनताको जिवन पढ्ने र बदल्ने आँट गरौं ।