मुलतः पदार्थ वा भौतिक तत्वलाई प्रधान ठान्ने पद्धति नै द्वन्द्वात्मक भौतिकवाद हो । पदार्थको परिभाषा व्यापक रहेको छ । पदार्थ भनेको ज्ञानेन्द्रीय मार्फत हाम्रो जानकारीमा आउने वस्तुहरू हुन्, जुन तत्वबाट बनेका छन् । यसैलाई नै पदार्थ भनिन्छ । एङ्गेल्सको भाषामा पदार्थ भनेको सम्पूर्ण भौतिक वस्तुहरूको कुल योग हो । लेनिनले यसलाई चेतनाभन्दा बाहिर स्वतन्त्ररूपमा अस्तित्वमा रही मानव मस्तिष्कमा प्रतिविम्बित, चित्रित एवम् अनुभूत हुने वस्तुगत वास्तविकतालाई बुझाउने दार्शनिक भाव भनेका छन् । अर्को भाषामा देख्न वा छाम्न सकिने वस्तु, समाज वा घटना प्रक्रियालाई नै पदार्थ भनिन्छ ।
पदार्थको क्षेत्र
प्रारम्भमा खास द्रव्यलाई मात्र पदार्थ भनिन्थ्यो तर विद्युत, चुम्बकीय क्षेत्र, एक्सरे र रेडियो तरङ्गको आविष्कारपछि यसको व्यापक क्षेत्रलाई पदार्थ मानिएकोछ । द्रव्य र क्षेत्र पदार्थको दुई विपरीत पक्षहरू हुन्, जसको अन्तरक्रियाबाट असङ्ख्य घटना प्रक्रियाहरूको अस्तित्व निर्धारण हुन्छ । पदार्थको क्षेत्र व्यापक रहेको छ । जीवन र जगतमा जताततै पाइने साथै हाम्रो व्यावहारिक जीवनको सम्पर्कमा आइरहने वस्तु नै वास्तवमा पदार्थ हो । ठोस, तरल र ग्यासनै पदार्थका रूपहरू हुन् । इलेक्ट्रोन, क्वान्टम र प्रोटोनहरूको आविष्कार पछि पदार्थ भनेको प्रत्यक्ष देखिने वा बोध हुने बृहत् वस्तुजगतमा मात्र सीमित छैन । योभन्दा फरक अयान्त्रिक नियमहरूबाट सञ्चालित सूक्ष्म जगत पनि पदार्थ नै हो । यो हाम्रो वरिपरिदेखि अबौँ प्रकाशवर्ष टाढासम्म फैलिएको छ ।
पदार्थको गति
सार्वभौमतः पदार्थ भनेको गतिशील हुन्छ । पदार्थमा अन्तरनिहित यही गतिलाई नै परिवर्तन भनिन्छ । अर्थात कुनै पनि वस्तु वा घटना एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण वा एउटा स्थानबाट अर्को ठाउँमा स्थानान्तरण हुने प्रक्रिया नै वास्तवमा गति हो । गति भनेको नै वस्तु वा समाजको अस्तित्व रक्षा गर्दै विकास र रूपान्तरण पद्धति हो । पदार्थको मुख्य गुण नै गति हो, जसले वस्तुलाई जीवित मात्र राख्दैन विकास एवम् रूपान्तरण गर्दछ । प्रकृति, जीवन, समाज र चिन्तनको हरक्षेत्रमा घट्ने समस्त घटनाहरूको ऐतिहासिक प्रक्रिया नै गति हो । यसलाई परिवर्तन र गतिशीलताको नियम पनि भनिन्छ । मूलतः संसारमा गति विनाको पदार्थ र पदार्थ विनाको गति हुनसक्दैन ।
पदार्थको रुप
हरेक भौतिक पदार्थ गतिशील हुन्छ । गति पदार्थको सार्वभौम चरित्र हो । यही भौतिक पदार्थको गतिको पनि विभिन्न रूपहरू रहेको छ । विशेष गरेर यान्त्रिक गति, भौतिक गति, रासायनिक गति, जैविक गति र सामाजिक गतिहरू यसका रूपहरू हुन् । पिण्डलाई एउटा स्थानबाट अर्को ठाउँमा स्थानान्तरण गरिने पद्धति नै यान्त्रिक गति हो । यसैगरी पदार्थको ठोस, तरल र ग्यास पिण्डहरूको परमाणुको गति, तापको गति, विद्युतको गति, चुम्बकको गति अन्तर आणविक गति र नाभिकीय गतिसम्बन्धी सम्पूर्ण प्रक्रिया नै भौतिक गतिभित्र पर्दछ । त्यस्तै रासायनिक अणुहरूको संयोजन र वियोजनको गतिलाई रासायनिक गति भनिन्छ ।
त्यसैगरी समग्र जैविक अङ्गहरूमा चल्ने गतिलाई जैविक गति भनिन्छ । यता समाजमा हुने सम्पूर्ण ऐतिहासिक प्रक्रियाहरू सामाजिक गतिभित्र पर्छ । मानव समाज विकास र रूपान्तरणको गति नै सामाजिक गति हो । वस्तुगत समाजको यही साश्वत गतिकै कारण ठूलाठूला परिवर्तनहरू सम्भव हुँदैआएको इतिहास साछी छ । भौतिक वस्तुहरू गतिवान हुन आवश्यक निश्चित स्थान वा क्षेत्रलाई ओगट्ने सार्वभौमिक स्वभावलाई बुझाउने दार्शनिक अवधारणा नै दिक वा स्थान हो । त्यस्तै सबै वस्तु र घटना प्रक्रियाहरू निश्चित अवधिसम्म अस्तित्वमा रहने र लोप हुने क्रमलाई व्यक्त गर्ने दार्शनिक अवधारणा नै काल वा समय हो । यसकारण दिक् र काल गतिको महत्त्वपूर्ण रूप हो । यसरी पदार्थका रूपहरूको खासखास क्षेत्रमा निर्णायक भूमिका देखिन्छ ।