कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने सुभेच्छा शुरुमा नै व्यक्त गर्न चाहान्छु छ । कमरेड विप्लवद्वारा नवौं महाधिवेशनमा पेश गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरु र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक÷राजनैतिक, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरुको उठान माक्र्सवादको आधारमा गरौं कि सामान्य पुँजीवादी अवधारणाको आधारमा ? कमरेडहरुलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र माक्र्सवाद—लेनिनवाद—माओवालाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैह्रमाक्र्सवादी कोणबाट गर्ने कुरा गरिरराखेको छ भनेर । विप्लवजीले आफ्नो पार्टीको पहिलो प्रकाशन तथा मुखपत्र “जनक्रान्ति”को एकीकृत जनक्रान्तिः कार्यदिशा संश्लेषण बारे भन्ने शीर्षक दिइएको लेखमा भन्नु भएको छ, “आजको विश्वको समाधान १७७ वर्ष पहिलेका माक्र्सको संश्लेषण, १०० वर्ष पहिलेका लेनिनको संश्लेषण र ६५ वर्ष पहिलेका माओको संश्लेषणबाट मात्र खोज्न थालियो भने वाष्प ईञ्जिनमा हवाईजहाज फिट गर्न खोजेको जस्तो हुन्छ ।”१ विप्लवजीको यो भनाईलाई आधार मान्ने हो भने उहाँले माक्र्सवाद पुरानो भयो भन्नु भएको निष्कर्ष निकाल्नु पर्दछ । माक्र्सवाद पुरानो भयो भनिसकेपछि प्रतिवेदनमाथिको बहस माक्र्सवादको आधारमा गर्नु बेकार हुन्छ । तर प्रतिवेदनमा माक्र्सवाद—लेनिनवाद—माओवाद र अझ प्रतिवेदनको शुरुआत माओको भनाइबाट गरिएको छ । त्यसैले यो प्रतिवेदन कति माक्र्सवादी रहेको छ ? यसमा माक्र्सवादका तीनवटा संघटक अंगलाई कसरी प्रस्तुत गरिएको छ र नेपाली क्रान्तिका समस्याको समाधानको बाटो खोजिएको छ कि झनै बल्झाउनेतिर उन्मुख रहेको छ भन्ने कुरामा निष्पक्ष भएर तर्कहरु पेश गरिने छ । खेल लामो हुने भएकाले यसमा केवल दार्शनिक÷वैचारिक विषयहरु मत्र उठान गरिएको छ ।
पहिलो कुरा, अहिले समाज रुपान्तरणमा के माक्र्सवाद साँच्चै हवाइजहाजमा वाष्प ईन्जन जडान गरिएको जस्तो हो त ? अथवा तथ्यमा आधारित खोज, अनुसन्धान, अन्वेषणबाट प्रमाणित सत्य सिद्धान्तहरु पुराना हुन्छन् कि हुँदैनन् । हुन त फुकुयामा फ्रान्सिकले १९९१ मा नै द इन्ड अफ हिस्ट्री एण्ड द लास्ट म्यान लेखिसकेका थिए । तर सिद्धान्त र व्यावहारमा यी कुरा पुष्टि भएनन् । अनि विप्लवजीले अहिले फरक ढंगबाट त्यहि कुरा उल्लेख गर्नु अज्ञानता हो कि माक्र्सवाद परित्यागको पथगामी बनेको हो ? साँच्चै विप्लवले भने जस्तै माक्र्सवाद पुरानो भयो कि भएन भन्ने कुरालाई प्रमाणित गर्न केही भौतिक विज्ञानका सिद्धान्तहरुतिर प्रवेश गरौं ।
अहिले हामी रेलमा चढेर अन्तरिक्ष वा अरु कुनै ग्रहमा भ्रमण गर्न सक्ने युगमा छौं । इलेन मस्कको स्पेसएक्स कम्पनीले यस्तो रेलको आविष्कार गरिसकेको छ फ्याल्कन—१ जसमा चढेर मान्छे अन्तरिक्ष, ग्रहउपग्रहमा यात्रा गर्न सक्दछ । अन्तरिक्ष यात्राको शुरुआत ४ अक्टोबर १९५७ मा पहिलो पटक पूर्व सोभियत संघले स्पुट्निक पहिलो सफलतापूर्वक अन्तरिक्षमा पठाएर भएको थियो । त्यही रकेटको विकसित रुप हो अहिलेको फ्याल्कन—१ । अहिले मान्छेले मंगलग्रहमा भूउपग्रह पठाइ सकेको छ । पृथ्वीबाट ११ करोड ५५ लाख ६० हजार किलोमिटर टाढा रहेको मंगल ग्रहमा यान पुगिसकेको छ । तर त्यो यान प्रक्षेपण गर्ने सिद्धान्त आइज्याक न्युटनले सन् १६८६ मा “प्रिन्सिपिया म्याथमेटिका फिलोसोफिया नेचुरलिस”मा गतिको तेस्रो—क्रिया बराबर प्रतिक्रिया, दोस्रो—गुरुत्व वल वा प्रवेग र पहिलो—जडताका नियमका रुपमा व्याख्या गरेका छन् । कुनै पनि यानलाई पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर पुग्नकालागि कम्तिमा ११.१८६ किलोमिटर प्रतिसेकेण्डको वेग हुनुपर्दछ । किनकिन पृथ्वीको गुरुत्व प्रवेग लगभग ९.८१ मिटर÷सेकेण्ड २ हुन्छ । पृथ्वीको गुरुत्व वलबाट फुत्किएर अन्तरिक्षमा प्रवेश गर्नु पर्दछ । र विप्लवजीले भन्ने गरेको हवाई जहाज पनि त्यही २ सय ७१ वर्ष अघि न्युटनले निकालेको गतिको तेस्रो नियम अनुसार नै उड्छ ।
अब भन्नुहोस् महोदय, न्युटनले २ सय ७१ वर्ष अघि आविष्कार गरेको गतिको नियमको आधारमा अहिले हवाइ जहाज मात्र नभएर भूउपग्रहरुले त अन्तरिक्ष र ग्रहउपग्रहमा यात्रा गर्दछन् । त्यो नियम पुरानो भएको छैन भने माक्र्सवाद कसरी पुरानो हुन्छ ।
मैले यो प्रसंग किन निकालेको भने विप्लवजीले आठौं महाधिवेशन मात्र नभएर नवौं महाधिवेशनको प्रस्तावित प्रतिवेदनमा माक्र्सवाद पुरानो भयो भन्ने गलत धारणा फिर्ता लिनु भएको छैन । तर पनि म माक्र्सवादको एक विद्यार्थी र अनुयायी भएकाले उहाँ र उहाँले नेतृत्व गरेको पार्टी यदि माक्र्सवादी भन्न रुचाउँछ भने पहिला मुखपत्रमा व्यक्त उक्त अभिव्यक्तिलाई फिर्ता लिनु पर्दछ । हैन भने उहाँहरुले आफूलाई माक्र्सवादी भन्ने कुनै अधिकार हुँदैन । किन भने मिति सकिएको कुनै बस्तुको उपयोग हुन सक्दैन । उहाँले आफू र आफ्नो पार्टीलाई यो महाधिवेशनबाट माक्र्सवादी नरहेको घोषणा गर्नु पर्दछ । खैर जेहोस्, यहाँ म उहाँहरुले प्रतिवेदनमा उठाएका गैह्र माक्र्सवादी तर्कहरुका बारेमा यहाँ उल्लेख गर्ने छु, जसले इमान्दार, माक्र्सवादप्रति प्रतिबद्ध र क्रान्तिको चाहना राख्ने कमरेडहरुलाई सचेत बनाउने छ ।
दार्शनिक÷वैचारिक पक्षहरु
आठौं महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा केही महत्वपूर्ण सैद्धान्तिक विषयहरु अन्तर्गतका भाष्यहरु ”.समाजवादको असफलताले सावित गरेको छ भने वस्तुलाई बदल्नु मात्र पूर्ण होइन, बदलिएको वस्तुलाई रक्षा र विकास गर्ने कुरा मुख्य बन्दो रहेछ ।……….तसर्थ हामीले बदल्नेसँगै रक्षा र विकास गर्ने दर्शन निर्माण गर्नुछ ।”२ “ …परन्तु विपरितको एकत्वको नियम नियम प्रकृति र समाजमा लागू हुँदा एकै प्रकारले हुन्छ भनेर बुझ्नु यान्त्रिक हुन्छ ।”३ “प्रकृति विज्ञानको विकासले माक्र्सवादको पुष्टि र विकास गर्दछ । यसैले गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका दुश्मनहरुले प्रकृति विज्ञानको आविष्कारलाई यसको खण्डनमा लागेका छन् । ………तरङ्ग जस्तै हावा पनि हो ।……..द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विकास गर्न जरुरी छ ।”४
माथि प्रस्तुत गरिएका भाष्यहरु ठीक बेठीक के हुन् भन्ने बारेमा नवौं महाधिवेशनको प्रतिवेदनमा कुनै उल्लेख छैन । यी ३ वटा कुराका बारेमा पार्टीका केन्द्रीय समितिमा नियमित जस्तो उठ्ने गरेका थिए । जबकि यी अभिव्यक्तिहरु गैह्रमाक्र्सवादी उक्तिहरु हुन् । द्वन्द्ववाद बारे माक्र्स भन्नु हुन्छ “In its rational form it is a scandal and abomination to bourgeoisdom and its doctrinaire professors, because it includes in its comprehension and affirmative recognition of the existing state of things, at the same time also, the recognition of the negation of that state, of its inevitable breaking up; because it regards every historically developed social form as in fluid movement, and therefore takes into account its transient nature not less than its momentary existence; because it lets nothing impose upon it, and is in its essence critical and revolutionary.” (नेपालीमा भाषान्तरण—तर तर्कबुद्धिपरक हिसावले त्यो बुर्जुवा संसार तथा उसका पण्डित प्राचार्यहरुकालागि एउटा निन्दनीय घृणित बस्तु हो । किन भने त्यसमा वर्तमान व्यवस्थाबारे उसको बुझाई तथा सकारात्मक स्वीकृतिका साथसाथै यस व्यवस्थाको निषेध र त्यसको अवश्यम्भावी विनाशको स्वीकृति पनि सामेल छ । किन भने द्वन्द्ववादले ऐतिहासिक दृष्टिबाट विकसित प्रत्येक सामाजिक रुपलाई निरन्तर परिवर्तनशील मान्दछ र यसकारण त्यसको अस्थायी स्वरुपमा उसको क्षणिक अस्तित्वभन्दा कम ध्यान दिँदैन । यसकारण द्वन्द्ववादले कुनै पनि चीजलाई आफूमाथि हावी हुन दिँदैन किनभने आफ्नो सारत्वमा यो आलोचनात्मक र क्रान्तिकारी छ ।)
व्याख्या नगरिकन भन्दा विप्लवजीहरुका यी तर्कहरुलाई सिधै अस्वीकार गर्दछ । अर्को कुरा माक्र्सको भनाई ‘बदल्नु मुख्य’लाई त्यत्ति मात्र होइन रक्षा र विकास तर्र्कलाई उहाँहरुले दर्शनमा नयाँ संश्लेषण गनेको जुन दावी गर्नु भएको छ, त्यो वास्तवमा त्यो नयाँ संश्लेषण नभएर बाबुरामको ं “……..मुलभूत समानता भित्र उल्लेखनीय भिन्नताहरु र समाज विकासको क्रममा देखिएका आम समानता भित्रका ठोस असमान मार्गहरुले द्वन्द्ववादी विकासको सिद्धान्तलाई थप विकसित र परिमार्जित गर्नुपर्ने देखिन्छ ।”६ भनाईमा समानता रहेको छ । कुरा यत्ति हो उक्त लेख बाबुरामले माक्र्सवाद परित्याग गरेको घोषणापछि लेखेका थिए । विप्लवजीहरुले माक्र्सवाद पुरानो भयो भन्नु भएको छ । त्यसैगरी उहाँहरुले भन्ने गरेको विपरितहरुको एकत्व समाजमा फरक हुन्छ भन्ने कुरा माक्र्सवाद संगत छैन । यसको खण्डन माक्र्सको “द्वन्द्ववादले ऐतिहासिक दृष्टिबाट विकसित प्रत्येक सामाजिक रुपलाई निरन्तर परिवर्तनशील मान्दछ” भन्ने तर्कले खण्डन गर्दछ ।
त्यसैगरी उहाँहरुले तरङ्गलाई हावा जस्तै भन्नु भएको छ । तरङ भनेको माध्यममा हुने अवरोध हो जसमा कणहरुको कुनै हलचल विना उर्जा एक स्थानबाट अर्को स्थानमा पुग्दछ । जब कि हावामा कणहरु हुन्छन् । उसको उ स्वयं माध्यम हुन्छ । हावा ताप र ध्वनीलाई एक स्थानबाट अर्को स्थानमा पु¥याउने माध्यम बन्दछ । तर प्रकाश होइन । यो कथनले भौतिक विज्ञानका सम्बन्धमा उहाँहरु कति अनभिज्ञ हुनुहुन्छ भन्ने कुराको पुष्टि गर्दछ । नवौं महाधिवेशनको दस्तावेजमा उहाँहरुले “वैज्ञानिक भौतिकवादी दृष्टिकोण”७ उल्लेख गर्नु भएको छ । वैचारिक विशेषताहरु अन्तर्गत उल्लेख उक्त पदावलीले के भन्न खोजेको हो स्पष्ट भएको छैन । सायद, द्वन्द्वात्मक भौतिकवाद होला । राहुल सांकृत्यायनको शब्द सापटी लिइएको होला । द्वन्द्ववादका बारेमा विप्लवजीहरुको धारणा “नेपालमा कम्युनिष्ट पार्टीको स्थापना र विचारको विस्तार सँगै यो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको विकास भएर आएको छ ।”८ “ यहाँनेर दर्शनबारे अर्को गलत सोच पनि छ जसले द्वन्द्वात्मक भौतिकवाद भन्दा अर्को दर्शन सम्भव छैन भने जसरी व्याख्या गर्दछ । यो माक्र्स–लेनिन–माओसम्म भएको दर्शनको विकासलाई नै अन्तिम हो जसरी व्याख्या गर्दछ । यसको सम्बन्ध दर्शनमा जडसुत्रवादसँग छ । यसले दर्शनलाई परंपरारगत रुढिका रुपमा थन्काइ दिने खतरा हुन्छ । यसले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई वस्तु, समाज, गति र विकासमा नलिएर स्थिर सत्यका रुपमा व्याख्या गर्द छ । यसले दर्शनको द्वन्द्वात्मक एवं गतिशील आत्मालाई झिकेर जड बस्तुमा बदलि दिन्छ ।”९ व्यक्त गरिएको छ ।
यस भनाईबाट द्वन्द्वात्मक भौतिकवादको विकास नेपालमा भएको हो र द्वन्द्ववादलाई उही रुपमा बुझ्नु भनेको जड बस्तुका रुपमा बुझ्नु हो । जबकि द्वन्द्ववाद आफैमा गतिसिल हुन्छ । यसले सबै चीजलाई जडमा व्याख्या गर्दैन, बरु गतिमा बुझ्दछ । यदि कसैले द्वन्द्वात्मक भौतिकवादलाई विप्लवजीहरुको धारणामा बुझ्ने कोशिस गर्दछ भने, उ कदापी माक्र्सवादी हुन सक्दैन । किन कि यो तर्कले त आदर्शवादी दृष्टिकोणको माग गर्दछ । माक्र्स—एंगेल्सले त भौतिकवादलाई द्वन्द्ववादी विधिमा मात्र खोज गर्नु भएको थियो । जसरी अधिभुतवाद एउटा विधि हो, त्यसैगरी द्वन्द्ववाद पनि विधि हो । आदर्शवादी द्वन्द्ववादको हेगेलले खोज गरेका हुन् । फायरवाखको अधिभूतवादी भौतिकवाद र हेगेलको आदर्शवादी द्वन्द्ववाद थियो । यो कुरालाई पुष्टि गर्न माक्र्सले “The mystification which dialectic suffers in Hegel’s hands, by no means prevents him from being the first to present its general form of working in a comprehensive and conscious manner. With him it is standing on its head. It must be turned right side up again, if you would discover the rational kernel within the mystical shell.” हेगेलको हातमा द्वन्द्ववाद रहस्यको आवरण भित्र छ, तर यसका बाबजुद हेगेलले सबैभन्दा पहिले विस्तृत र सचेत ढङ्गले सामान्य रुपमा द्वन्द्ववादले कसरी काम गर्दछ भन्ने कुरा बताएको सही कुरा हो । टाउकोले टेकेर उभिएको छ । यदि तपाईँ यसको रहस्यमय आवरणभित्र लुकेको तर्कबुद्धिपरक सारतत्व तत्ता लगाउन चाहनुहुन्छ भने तपाईँले त्यसलाई उल्टाएर फेरि खुट्टाको बलमा उभ्याइदिनु पर्नेछ ।”१० भन्नु भयो । यसको खास अर्थ हुन्छ, द्वन्द्ववादी आदर्शवाद र अधिभुतवादी भौतिकवादलाई द्वन्द्वात्मक भौतिकवादमा सुल्ट्याउनु । यही हो टाउकोले टेकेकोलाई खुट्टाले टेकेको बनाउनु ।
माक्र्सले प्रतिपादन गरेको द्वन्द्ववादको व्यापकताका बारेमा स्वयं माक्र्सले ‘पुँजीमा द्वन्द्ववादको प्रयोग’ लेखेर पुष्टि गर्नु भएको छ । पुँजीको निर्माण समाजसँग सम्बन्धित हुन्छ । खास भन्नु पर्दा मान्छेले गर्ने क्रियाकलापमा भर पर्दछ । त्यसैले द्वन्द्ववाद मानवमा उस्तै गरी लागु हुँदैन जसरी भौतिक बस्तुमा हुन्छ भन्नु गलत हुन्छ । त्यसैले त माओले यसलाई झन स्पष्ट पार्नु भएको छ । उहाँले त हेगेलले आदर्शवादी तरिकाले तयार पारेका ३ नियमहरुलाई एंगेल्सले प्रस्तुत गर्नु भएको थियो, त्यसको व्यवस्थितरुपमा स्पष्ट गर्नु भएको छ र माओ भन्नु हुन्छ “Engels talked about the three categories, but as for me I don’t believe in two of those categories. (The unity of opposites is the most basic law, the transformation of quality and quantity into one another is the unity of the opposites quality and quantity, and the negation of the negation does not exist at all.) The juxtaposition, on the same level, of the transformation of quality and quantity into one another, the negation of the negation, and the law of the unity of opposites is ‘triplism’, not monism. The most basic thing is the unity of opposites. The transformation of quality and quantity into one another is the unity of the opposites quality and quantity. There is no such thing as the negation of the negation. Affirmation, negation, affirmation, negation . . . in the development of things, every link in the chain of events is both affirmation and negation.” एंगेल्सले तीनवटा मूल नियमहरुको कुरा गरेका छन् तर म भने तीमध्ये दुईवटा मूल नियमहरु स्वीकार्दिन । –विपरितहरुको एकताचाँहि आधारभूत नियम हो, गुणको परिमाणमा रुपान्तरण र परिमाण को गुणमा रुपान्तरण भन्ने कुरा गुण र परिमाणजस्ता विपरित तत्वहरको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन । गुणको परिमाणमा रुपान्तरण र परिमाण को गुणमा, निषेधको निषेध र विपरित तत्वहरुको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रुपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको विपरित तत्वहरुको एकता हो । गुणको परिमाण र परिमाणको गुणमा रुपान्तरण भन्ने कुरा गुण र परिमाणजस्ता विपरित तत्वहरुको एकत्व मात्रै हो । निषेधको निषेध भन्ने कुरा हुँदैन । स्वीकार, नकार, स्वीकार, नकार …..बस्तुको विकासक्रममा एकअर्कासँग साङ्लोझैं गाँसिएका हुन्छन् ।”११
माथि उधृत माक्र्स र माओको भनाईले सबैचीजमा विपरितहरुको एकत्वको नियम लागू हुन्छ । विप्लवजीहरुले आठौं महाधिवेशनमा दर्शनमा विकास गरिएको भनी प्रस्तुत गरिएको सजीववस्तुमा यो नियम लागू हुँदैन भन्ने तर्क गैह्रमाक्र्सवादी मात्र नभएर दृष्टिकोण भएको डरलाग्दो खोट हो । अहिले आएर नवौं महाधिवेशनमा उहाँहरुले “सजातीय विपरितको एकत्व भनेको गलत विचार अर्थात बुर्जुवा विचारलाई रुपान्तरण गर्ने या पार्टीबाट अलग गर्ने दृष्टिकोण हो ।”१२ तर्क पेश गर्नु भएको छ । यसबाट उहाँहरुले विपरितहरुको एकत्वको शाब्दिक अर्थ नबुझेको देखिन्छ । किन भने विपरितहरुको एकत्व सजातीय वा विजातीय हुँदैन । यसले वास्तवमा प्रकृतिमा विद्यमान बस्तुहरुको अन्तरविरोध वा अन्तर्संघर्ष भन्ने बुझाउँछ । माओले पार्टीभित्रको विपरितहरुको एकत्वबाट पैदा हुने अन्तरसंघर्षलाई सञ्चालन र समाधान गर्ने विधि आलोचना र आत्मालोचनाको विधिको आविष्कार गर्नु भयो । उहाँले पार्टी भित्रको फोहर बडार्ने वा कुचो लगाउने भन्नु भएको छ । जबकी माओले भन्नु भएको छ “Inner-Party criticism is a weapon for strengthening the Party organization and increasing its fighting capacity”१३ जसलाई विप्लवहरुले स्वीकार गर्नु हुन्न । तर विप्लवजीहरुले यो द्वन्द्वात्मकतालाई नबुझेकाकारण पार्टी भित्रको आत्मालोचना—आलोचनाको विधिलाई हटाएर “पार्टीमा समस्याहरु आउने भनेको सारमा नेताहरुमा आउने समस्या नै हो । नेताहरु बीचको सम्बन्ध केवल लेनिनको तरिकाबाट मात्र समाधान नभएपछि माओले आलोचना र आत्मालोचनाको नयाँ विधिमा जोड दिनु भयो । यसले सकारात्मक प्रभाव पनि दियो । तर पछिल्लो समयमा पुग्दा यो विधिको प्रयोग पनि स्वच्छ रुपान्तरण हुने र गराउनेमा भन्दा आफ्ना पूर्वाग्रह र प्रतिशोध साध्ने हतियारका रुपमा प्रयोग हुन थालेपछि प्रभावहीन बन्दै गएको छ । आत्मालोचना भन्दा आलोचना प्रधान बन्न पुगेपछि त्यसले रुपान्तरण गर्ने नभई कमजोरीमा निषेध गर्न खोज्ने समस्या बढेको छ । पार्टी भित्रका अन्तर्विरोधहरुको समाधान रुपान्तरणबाट नभइ निषेधबाट गर्न खोज्दा परिणाम…..”१४ भन्ने गजवको विधि अंगाल्नु भएको छ, जुन माक्र्सवाद त छैन नै पार्टी—संगठन भित्र पैदा भएका समस्या र अन्तर्विरोधहरुलाई असाध्य बनाइदिन्छ र अन्ततः अर्बुद्धरोगको पनि अन्तिम चरणमा परिणत गरिदिन्छ ।
पार्टी भित्र नेता वा कार्यकर्तामा भएका वैचारिक, राजनैतिक र सांगठनिक र सांस्कृतिक समस्याको समाधानको पहिलो उपाय भनेको उनीहरुमा रहेको दृष्टिकोणात्मक समस्यालाई आलोचना र आत्मालोचना हो । यो पनि द्वन्द्ववादमा आधारित रहेको छ । यसरी हेर्दा यो विशुद्ध वैचारिक भए पनि यसले संगठन सञ्चालन र त्यसले गर्ने संघर्षमा प्रभाव पर्दछ । जस्तै विप्लवजीको नवौं महाधिवेशनको दस्तावेजमा उल्लेख गरिएको छ कि पार्टी भित्र समस्याहरु रहेका छन् । उहाँहरुले किटान नगरे पनि उक्त पार्टीमा वैचारिक समस्या मुख्य भएर देखा परेको छ । त्यसले सांगठनिक समस्या सिर्जना गरेकाले आठौं महाधिवेशन आयोजक समितिका ४८ सदस्यमध्ये २४ जनाले उक्त पार्टी छाडेका छन् । महाधिवेशनबाट निर्वाचित गरिएका ६० जना मध्ये २६ जनाले यस अवधिमा उक्त पार्टी छाडेका छन् । यसको मुख्यकारण उक्त पार्टीमा अन्तरसंघर्षलाई पूर्णरुपले बन्देज गरिदिनु हो । दुई लाइन संघर्ष हुँदैन भन्ने मान्यता राखिएकाले त्यहाँ निषेधात्मक आदर्शवाद लागू गरियो । फरक विचार राख्ने बित्तिक्कै कि त खुरुक्क पार्टी छाड्नु पर्ने कि आफ्नो विचार छाडेर आत्मासमर्पण गर्नु पर्ने वा कार्वाही सहनु पर्ने विकल्प अहिले पनि त्यो पार्टीमा विद्यमान छ । यस्तो गैह्रमाक्र्सवादी संगठनात्मक अवधारणाको विजारोपण २०७१ सालको धरान बैठकमा प्रस्तुत गरिएको थियो । त्यसैलाई आठौं महाधिवेशन र अहिले प्रस्तावित नवौं महाधिवेशनसम्म यथावत राखिएको छ । यो सत्यलाई त्यहाँ रहनु भएका अधिकांश तत्कालिन केन्द्रीय सदस्यहरुले अभिव्यक्तमा असहमति जाहेर गरेका हुन् । तर उनीहरु संगठित, व्यवस्थितरुपमा पार्टीका आधिकारिक र औपचारिक कार्यक्रममा उजागर गर्ने साहस गर्दैनन् । उनीहरुको यो कमजोरी पनि द्वन्द्ववादलाई सही तरिकाले आत्मासात गर्न नसक्नु हो । उनीहरु यदि यी असत्य तथ्यहरुका बारेमा बोलेमा वा फरक मत राखेमा पार्टी संगठनबाट बाहिरनिु पर्दछ वा पार्टी र नेतृत्वमा गम्भीर समस्या आउँछ भनी विधिमा अधिभूत र दृष्टिकोणमा आदर्शवादी सोचाइ राख्दछन् । गएको १२ औं केन्द्रीय समितिको निर्णय विप्लव—प्रकाण्डहरुले उल्टाउँदा पनि प्रतिवाद नगरी मुटुमन कस्नु यसैको परिणाम हो ।
त्यस पार्टीमा द्वन्द्वात्मक भौतिकवादलाई लागू गर्न नसक्नुका कारणले त्यहाँ बल्झिने सांगठनिक, आर्थिक र सांस्कृतिक समस्याहरु समाधान हुनुको सट्टा असाध्य बन्न पुगेको छ र नेताहरुमा देखिएका समस्यामा तैं चुप मैं चुपमा गएर टुङ्गिने गरेको छ । यसैको फलस्वरुप मुख्य नेताहरुमा क्रान्तिकारी कम्युनिस्ट भएको अभिनय गर्नु पर्ने बाध्यता सिर्जना भएको छ । यसरी गर्नु पर्ने विभिन्न अभिनयहरुले नेताहरुमा बहुचरित्रीय जटिलता पैदा हुन्छ र नेता असन्तुलित बन्न पुग्दछ । यस्तो बहुचरित्रीय जटिलताबाट नेता विकृत विचारको शिकार बन्न पुग्दछ । यस्तो शिकार हुनबाट मुक्त हुने एक मात्र उपाय भनेको भौतिकवादी दृष्टिकोणलाई द्वन्द्ववादी विधिद्वारा कार्यान्वयन गर्नु नै हो ।
विप्लवजीहरुले द्वन्द्ववादको विकासको कुरा गर्नुको पछाडिको मुख्य तर्क यान्त्रिकता हो । विज्ञानले प्रविधिमा गरेको विकासलाई उहाँहरुले विचारमा विकास भएको भन्ने धारणा बनाउनु भएको छ । यो धारणा एकदमै गलत रहेको छ । आठौं महाधिवेशनमा स्टेफिन हकिङको नाम खुबै लिइएको थियो । नवौं महाधिवेशनको प्रतिवेदनमा “प्लंकको क्याण्टम मेकानिक्स अर्थात अनिश्चयको सिद्धान्तले भौतिक बस्तुको अन्त्यलाई कतैबाट पनि सावित गर्दैन ।”१५ भनिएको छ । पहिलो कुरा त उहाँहरुले भन्न खोजेको क्वान्टम यान्त्रिकी नभएर क्वान्ट सिद्धान्त हुनु पर्दछ । यसका ३ वटा नियमहरु शक्तिको विच्छिन्न(Energy discrete), तरङ्ग—कण द्वैतता(Wave-particle Duality) र (Uncertainty) हुन्छन् । यहाँ विच्छिन्न भन्नाले शक्ति पनि टुक्रा हुन्छ, जस्तै प्रकाश फोटोनमा, प्रकाशको तरङ र कण अभिन्नरुपमा रहेको हुन्छ र अनिश्चितता भनेको जति ठीकसँग कुनै कणको स्थिति सुनिश्चित गरिन्छ, त्यत्ति नै त्यसको गति अनिश्चित हुन जान्छ र जति ठीकसँग कुनै कणको गतिलाई निश्चित गरिन्छ, त्यत्ति नै त्यसको स्थिति अनिश्चित हुन जान्छ भन्ने अर्थ लाग्दछ । यसले सम्भाव्यता दर्शाउँदछ । क्वान्ट सिद्धान्तले यसअघिको बस्तुगत जगतको यान्त्रिक अभिधूतवादी धारणालाई पूर्णरुपले अन्त्य गरिदियो । यस सिद्धान्तले द्वन्द्ववादी धारणालाई विच्छिन्नता अथवा क्रमभंगको धारणा, मात्रा र गुणको अनिवार्य सम्बन्ध, विपरित पक्षहरुको अस्तित्वको सापेक्षिकता र अन्तर्सम्बन्धद्वारा पुष्टि गरेको छ । बरु क्वान्टम सिद्धान्तले द्वन्द्ववादलाई प्रकृति विज्ञानको माध्यमबाट पुष्टि गरिदिएको छ जसलाई विप्लवजीहरुले स्वीकार गर्नु भएको छैन । क्वान्टम यन्त्रिकी भनेको त क्वान्टम सिद्धान्तलाई गणितको सूत्रद्वारा कार्यान्वयन गर्नु हो । क्वान्टम यान्त्रिकीको प्रयोगहरुलाई प्रकृतिमा पाइने घटनाहरुको व्याख्या गर्ने र क्वान्टम प्रभावहरु जस्तै एकीकृत पथ(सर्किट) र लेजरहरु विकास गर्न समावेश गरिन्छ । यसको पछिल्लो उदाहरण क्वान्टम कम्प्युटिङ हो ।
उहाँहरुले हकिङको आविष्कारका बारेमा गरिएको भन्दा भिन्न कुराहरुलाई बढो बढाइचढाई गरेर उठाउने गर्नु भएको छ । कहिले ब्ल्याक होलबाट फर्किन सकिने कुरा, कहिले एकीकृत सिद्धान्तको कुरा । ब्ल्याक होलबाट फर्किन सकिन्छ भन्ने बारेमा हकिङ र उनकी छोरी लुसीले संयुक्त रुपमा २००७ मा एउटा बाल उपन्यास लेखेका छन् जर्जस् सिक्रेट कि टु युनिभर्स । त्योभन्दा बढि अहिलेसम्म केही भएको छैन । जहाँसम्म एकीकरणको सिद्धान्त छ, आइन्सटाइनले जब सामान्य सापेक्षताको सिद्धान्त पत्ता लगाए, त्यसले उनलाई सापेक्षता र क्वान्टम सिद्धान्तलाई एकीकरण गर्न सकिन्छ भन्ने अबधारणा बनाएका थिए । उनले प्रकृतिमा रहेका ४ वटा बलहरु चुम्बकीय, गुरुत्व, प्रवल र दुर्बलहरुलाई एकीकरण गर्न सकिन्छ भनेका थिए । तर सकेनन् । तर जब पछि क्वान्टम क्रोमोडाइनामिक्स र इलेक्ट्रोविक सिद्धान्तलाई मिलाएर बृहत एकीकृत सिद्धान्त बनाइएको छ । यो धेरै हदसम्म सफल भएको छ । बरु हकिङले भौतिकवादमा विशेष योगदान गरेका छन् । “दिक—काल, ब्रह्माण्डको विस्तार, अनिश्चयको सिद्धान्त, प्रारम्भिक कणहरु र बलहरुको प्रकृति, कृष्ण बिवर, ब्रह्माण्डको उत्पत्ति र निर्धाराण”१७ । त्यसैले सबैभन्दा पहिला द्वन्द्ववाद के हो, भौतिकवाद के हो र द्वन्द्वात्मक भौतिकवादलाई बुझ्न र ग्रहण गर्न जरुरी छ भन्ने जानकारी राख्नु पर्दछ । यी कुराहरु मैले २०७५ सालको केन्द्रीय समितिको बैठकदेखि लगातारका सबै बैठकमा भन्दै आएको हुँ । साथीहरुलाई याद हुनु पर्दछ । मैले पहिला माक्र्सवादका सबै आधारभूत कुराहरुको संगतीपूर्ण अध्ययन गर्नु पर्दछ र त्यसैको आधारमा प्रकृति विज्ञानमा भएका खोज, अनुसन्धान र आविष्कारहरुको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले अध्ययन गर्नु पर्दछ भन्ने गर्दथें । मेरो सुझावमा नेताहरुले सुन्ने कान लगाएनन् ।
त्यसैले अहिले पनि कमरेडहरुलाई माक्र्सवादी दर्शनलाई राम्ररी बुझ्न र आत्मासात गर्न विशेष अनुरोध गर्दछु । त्यसपछि मात्र राजनीतिको कुरा आउँछ । राजनीति दिनप्रतिदिनका घटनाहरु भएपनि ती घटनाप्रति कस्तो धारणा बनाउने भन्ने कुरा दर्शनले निर्धारण गर्दछ । यो सबैले बुझेको कुरा हो । यही गलत धारणाले बास गरेकाले गएको स्थानीय चुनाव प्रयोग गर्ने नीति उक्त पार्टीले लियो । सायद, अहिले के गर्दछ ? तर उक्त पार्टीको साउन २२—२४ सम्म बसेको पूर्ण बैठकले “यथास्थितिमा चुनावमा नजाने, यदि पक्राउ पुर्जी फिर्ता लिएर मुद्दाहरु खारेज गर्ने र बन्दीहरु रिहा गरी ३ बुँदे सहमति कार्यान्वयन गरेको अनुभूति गराएमा ४ पार्टीको मोर्चासँग छलफल र निर्णय अनुसार अगाडि बढ्ने”१६ निर्णय लिएको छ । यस निर्णयले वर्तमान संसदीय व्यवस्थालाई उहाँहरुले स्वीकार गर्नु भएको छ । उहाँहरु अब जानेर वा नजानेर संसदवादी भैसक्नु भएको छ ।
उहाँहरुको दस्तावेजमा उठाउनु पर्ने धेरै कुरा छन् । जस्तै कार्यदिशा, कार्यनीति, रणनीति, कार्यनैतिक कार्यक्रम, उहाँहरुले भन्दै आएको वैज्ञानिक समाजवाद, अर्थराजनीति । सबैभन्दा ठूलो भ्रम त उहाँहरुमा प्रविधिका बारेमा छ । एकीकृत जनक्रान्तिको एउटा आधार प्रविधिलाई मानिएको भएता पनि त्यही प्रविधिको सामान्य धारणात्मक ज्ञानको कमी छ । प्रविधिको व्यवस्थित अध्ययन, खोज, अनुसन्धान नगर्ने र गर्न नदिने बरु पुरानैतिर फर्किने समस्या रहेका छन् । प्रविधिलाई खेलौना र रोमान्चक बस्तुकारुपमा लिने गरिन्छ । यी सबै विषयमा पछि छलफल गर्दै जाउँला । अहिलेका लागि दर्शन÷विचार प्रमुख भएकाले यसका बारेमा केही कुराहरु उठाएको छु ।
सन्दर्भ
१) जनक्रान्ति भाग १, अंक १ २०७२को पेज ८ र ९
२) नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत एवं पारित राजनैतिक प्रतिवेदन २०७३ पेज ३९,
३) ऐ, ऐ
४) ऐ, ऐ पेज ४०
५)!) Das Capital Afterword to the Second German Edition (1873), Karl Marx
London, April 28, 1875
६) बाबुराम भट्टराई, एक्काइसौं शताब्दीमा कार्ल माक्र्स, रातो झिल्को वर्ष १०, पूर्णाङ्क १५, बैशाख—असोज २०७६ पेज १२
७) नवौं महाधिवेशनका लागि प्रस्तुत राजनैतिक प्रतिवेदन, पेज ३०
८) ऐ. ऐ.
९) ऐ. ऐ. पेज ५९
१०) Das Capital Afterword to the Second German Edition (1873), Karl Marx
London, April 28, 1875
११ Mao Talk on philosophy १९६४
१२) नवौं महाधिवेशनका लागि प्रस्तुत राजनैतिक प्रतिवेदन, पेज ४९
१३)Selected Works of Mao Volume I, ON CORRECTING MISTAKEN IDEAS IN
THE PARTY, December 1929
१४) नवौं महाधिवेशनका लागि प्रस्तुत राजनैतिक प्रतिवेदन, पेज ७८
१५) ऐ. ऐ. पेज ५९
१६) नेकपाको विशेष बैठकको परिपत्रबाट
१७) गुणराज लोहनी, रातोखबर साप्ताहिक, २०७४ चैत ३ गते
मिति २०७९ असोज २१