राजनीति
चितवन । तोकिएको सम्झौता अवधिमा निर्माण पूरा भएका आयोजना नेपालमा सायदै भेटिएला । चाहे मेलम्ची होस् या सिक्टा सिचाइ सबैको कथा त्यही छ ।
तोकिएको समयभित्र काम नगर्ने प्रवृतिलाई रोक्न, छेक्न कसैले सकेको देखिएको छैन । अझ गजब त के छ भने समयमा काम नगर्दा पनि निर्माण कम्पनीहरु न कालो सूचीमा परेका छन् न त उठ्नै नसक्ने गरी जरीवाना तिर्नु परेको छ ।
यहि नियतीको निरन्तरता हो, काठमाडौंको ‘लाइफलाइन’ नारायणगढ-मुग्लिन सडक आयोजना । यो सडकखण्ड भएर यात्रा गर्नेहरुले ३ बर्षदेखि सास्ती झेल्दै आएका छन् । यसले दिएको तनाव र व्यथाबाट गुज्रिने हजारौं छन् ।
सम्झौता अवधि भित्र निर्माण पूरा गरेको भए गएको बैशाख महिनादेखि नै ९ मिटरको फराकिलो सडकमा हुइँकिन पाइने थियो, तर निर्माण क्षेत्रको आम समस्याको चपेटाबाट यो सडकखण्ड पनि मुक्त बन्न सकेन ।
यो सडक गत वर्ष अर्थात सन् २०१७ कै अपि्रल महिनामा निर्माण सकिनु पर्ने सुरुवातको सम्झौता थियो ।
नारायणगढ-मुग्लिन सडकको कथा
नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म दूरी ३३.२ किलोमिटर छ । विश्व बैंकको २ अर्ब ९० करोड आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक बिस्तारको काम थालिएको हो ।
एसियन हाइवे अन्तर्गतको ‘ए एचटू’ खण्ड अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्ड पर्दछ । गुणस्तरीय सडक निर्माण गर्ने उद्देश्यले यो सडक विस्तार थालिएको हो ।
वि.स. २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्न चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो ।
अहिले नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलोमिटरसम्म ११ मिटर र १६ किलोमिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा गर्ने गरी ३ ठेकेदार कम्पनीले काम लिएका छन् ।
अहिले यो सडक साढे पाँच मिटर मात्रै चौडा छ ।
भरतपुरको आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको सडकखण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ६० करोड १० लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गर्न जिम्मा दिइएको हो । २४ अपि्रल २०१६ मा ठेक्का सम्झौता भएको थियो ।
त्यसपछिको २३.५ किलोमिटर सडक निर्माणको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । यस खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रुपैयाँ छ । ३१ मार्च २०१६ मा सो खण्डको निर्माण सम्झौता भएको थियो ।
त्यसअघि २३ मार्च २०१६ मा निर्माण सम्झौता भएको सुपि्रम तथा रौताहा निर्माण कम्पनीले नारायणगढदेखि २३.५ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको छ ।
यस खण्डको निर्माण लागत सवैभन्दा धेरै १ अर्व ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ छ । यो सडकखण्ड निर्माणपछि यो दूरी पार गर्न ३६ मिनेट लाग्ने अनुमान छ । सडकखण्डमा बन्ने पुलका कारणले सडकको दूरी ३ सय ५० मिटर छोट्टनिेछ ।