युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । स्पेनको रियल म्याड्रिडमा शनिबार राति भएको फाइनल खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी टोट्टनहामलाई २–० गोलले हराउँलै लिभरपुल च्याम्पियन बनेको हो । सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिगको स्वाद चाखेको लिभरपुलको समग्रमा यो छैटौं उपाधि हो ।
लिभरपुलको जितमा स्टार स्ट्र«ाईकर मोहमद सलाह र डिभोक ओरिगीले गोल गरेका थिए । सलाहले खेल सुरु भएको दोस्रो मिनेटमै पेनाल्टी गोल मार्फत टोलीलाई अग्रता दिलाएका थिए । साडियो मानेको क्रसमा बललाई डिबक्सभित्र टोट्टनहामका माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसलाई सलाहले सही सदुपयोग गरे ।
ओरिगीले ८७औं मिनेटमा गोलगर्दै टोलीको जित सुनिश्चत बनाएका थिए । ओरिगी ५८औं मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । खेलभर लिभरपुलको दबाब झेलेको टोट्टनहामले गोलगर्न लायक अवसर बनाउन सकेन । लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले यसपटक भने उपाधि जितेरै छाड्यो । अघिले सिजन फाइनलमा लिभरपुल रियल म्याड्रिडसँग पराजित भएको थियो । पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको टोट्टनहामको यात्रा अनुभवमै सिमित बन्यो ।