logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पेनाल्टी सुटआउटमा जित हासिल गर्दै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा


  • एजेन्सी
  • शुक्रबार, असार १३ २०७६

देर्लिस गोन्जालेज पाराग्वेलाई सही बाटोमा फर्काउने मौकामा चुक्दा पेनाल्टी सुटआउटमा ४–३ को जित हासिल गर्दै ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

गुस्ताभो गोमेजको पहिलो प्रहार ब्राजिली गोलकिपर एलिसन बेकरले जोगाइसकेको अवस्थामा टाइब्रेकरमा पाराग्वे दबाबमा थियो। तथापि ब्राजिलका तर्फबाट चौथो प्रहार गरेका रोबर्टो फिर्मिन्होको प्रहार आउट भएपछि पाराग्वेले खेलमा लाइफलाइन पाएको थियो।

तर अन्तिम पेनाल्टी प्रहार गर्न आएका गोन्जालेजले पनि सही दिशा समाउन नसक्दा बल आउट भयो। जहाँ अन्तिम पेनाल्टीमा ग्याब्रिअल जिजसले गोल गर्दै ब्राजिललाई अन्तिम आठको बाटो देखाए। यसअघि ब्राजिलका तर्फबाट विलियन, मार्किन्हो र कौटिन्होले गोल गरेका थिए भने पाराग्वेका मिगुअल आल्मिरोन, ब्रुनो भाल्डे ररोडरिगो रोजेसले गोल गरेका थिए।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल निर्णयार्थ टाइब्रेकरमा धकेलिएको थियो। १० जनामा सिमित भएर पछिल्लो ३२ मिनेट मैदानमा विताएका पाराग्वेको रक्षापंक्ति ब्राजिली फरवार्डका लागि पर्खाल बनेपछि कोपा अमेरिकाअन्तर्गत अन्तिम आठको पहिलो खेल टाइब्रेकरमा पुगेको थियो।

खेलेको सुरुदेखि पाराग्वेको पोष्टमा निरन्तर प्रहार गरेको ब्राजिलका लागि विपक्षी टोलीका गोलकिपर रोबर्टो फर्नान्डेज बाधक बने।

बिरामी परेका कारण पहिलो रोजाइका फरवार्ड रिचार्लिसन बिना पोर्टो एलेग्रीस्थित एरिना डो ग्रेमियोमा उत्रिएको ब्रालिलले पछिल्लो ३२ मिनेट १० जनामा सीमित भएको पाराग्वेविरुद्ध गोल गर्न सकेन।

निरन्तर प्रयास गरेको ब्राजिल पहिलो हाफमा सफल हुन सकेन। त्यस्तै, काउन्टर अट्याकमार्फत पटक–पटक प्रयास गरेको पाराग्वेले पनि गोल गर्न नसक्दा पहिलो हाफको खेल गोलरहित बराबरीमै टुंगियो।

५८औं मिनेटमा ब्राजिल खेलाडीमाथि फाउल गरेर रातो कार्ड सामना गर्दै पाराग्वेका रक्षक फाबियन बालबुइन मैदानबाट बाहिरिएका थिए।

ब्राजिलविरुद्ध कोपा अमेरिकाअन्तर्गत भएका पछिल्ला ४ खेलमा पाराग्वे अपराजित रहेको छ। पछिल्लो पटक कोपा अमेरिका २०१५को सेमिफाइनलमा भएको भेटमा ब्राजिल पेनाल्टीमा पराजित भएको थियो।

त्यस्तै २०११ को संस्करणमा समूह चरणको खेलमा बराबरी खेले पनि क्वार्टरफाइनलमा पेनाल्टीमै पराजित भएको थियो। तर रुसमा सम्पन्न विश्‍वकप २०१८ मा भने ब्राजिले पाराग्वेलाई ३–० को हार चखाएको थियो।

यी दुई टोलीबीच भएका ८० खेलमध्ये ब्राजिलले ४८ तथा पाराग्वेले १३ खेल जितेका छन् भने १९ खेल बराबरीमा टुंगिएका छन्।
ब्राजिलले शुक्रबार राति हुने अर्जेन्टिना र भेनेजुएलाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार