इङ्ल्यान्ड आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । रिभरसाइड मैदानमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डलाई एक सय १९ रनले हराउँदै घरेलु टोली इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाएको हो ।
जितसँगै इङ्ल्यान्डले नौ खेलबाट १२ अंक बनाएको छ । यसअघि १० अंक बनाएको न्युजिल्यान्डको सेमिपाmइनल यात्रा सुक्रबार हुने पाकिस्तान बंगलादेशबीचको नतिजाले निर्धारण गर्नेछ । पाकिस्तान अहिले नौ अंक सहित पाँचौं स्थानमा छ ।
तीन सय ६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा सवै विकेट गुमाएर एक सय ८६ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि टिम लेथमले सर्वाधिक ५७ रन बनाए । रोस टेलरले २८, कप्तान केन विलियमसन २७ रन, जेम्श निशम १९ र मिचेल सान्टनार १२ बनाए । न्युजिल्यान्डलाई सस्तैमा समेट्न इङ्ल्यान्डका मार्क उडले तीन विकेट लिए । क्रिस वोक्स, जोफ्रा आर्चर, लियाम प्लन्केट, बेन स्टोक्स र आदिल राशिदले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ५ रन बनाएको थियो । इङ्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेले । बेयरस्टोले एक सय ६ रन बनाएका थिए । उनको यो वान डे करियरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक हो ।
बेयरस्टोले भारतविरुद्ध पनि शतक हानेका थिए । जोसन रोयले ६० रन बनाए । कप्तान इओन मोर्गनले ४२, जोय रुटले २४, आदिल राशिद १६, लियाम प्लन्केटले १५, जस बटलर र बेन स्टोक्सले समान ११ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्श निशमले दुई दुई २ विकेट लिए । मिचेल सान्टनार र टिम साउथीले एक एक विकेट झारेका थिए ।