राजनीति
विश्वकपको फाइनल हेर्न लड्स मैदानमा नेपाली कांग्रेसका नेता गगन थापा पुगेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले फोटोसमेत सार्वजनिक गरेका छन्। ‘
न्युजिल्यान्ड र इंग्लयान्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ आइतबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो। उसले पहिलो पटक उपाधि जितेको छ।

विश्वकप विजेता इङल्यान्डले कति करोड पाए,अनि अरूले कति पाए?
इङल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डलाई हराउँदै करिब ४६ करोड ६६ लाख नेपाली रूपैयाँ जितेको छ । इङ्ल्यान्डले विश्ववकपको ट्रफीसँगै उक्त रकम जितेको हो। लगातार दोस्रो पटक फाइनलमा हार भोगेको न्युजिल्यान्डको टिमले १४ करोड रूपैयाँमा चित्त बुझाएको छ। च्याम्पियन टिमले सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी उचाल्यो।
विश्वकपको ट्रफी ११ किलोको छ। यो सुन र चाँदी मिलाएर बनाइएको हो। यसको उचाई ६० सेन्टिमिटर हुन्छ। यसलाई बनाउन करिब २ महिना लाग्छ। यसमा एउटा ग्लोब जस्तो हुन्छ, जो सुनबाट बनाइएको छ। यो ग्लोब तीनतिर मोडिएको स्तम्भको सहारामा टिकेको हुन्छ। यी तीन स्तम्भको आकार स्टम्प्स र बेल्सको जस्तै हुन्छ। यस ट्रफीलाई पहिलो पटक सन् १९९९ मा बनाइएको थियो। यस ट्रफीको वास्तविक प्रति आईसीसीले राख्छ। विजेतालाई रेप्लिका (प्रतिमूर्ति) दिइने गरिएको छ।
विश्वकप क्रिकेट : न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन
आयोजक इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।
रोचक खेलको सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि समान १५ रन बनाएको थियो । तर बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्ड विजेता बन्यो । सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हान्यो भने न्युजिल्यान्डले एक छक्का मात्र हानेको थियो ।
इङ्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको हो । सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचाल्यो ।
न्युजिल्यान्डले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ४१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स र जस बटलरले अर्धशतकीय पारी खेले ।
८६ रनमा चार विकेट गुमाइसकेको अवस्थामा स्टोक्स र बटलरले एक सय १० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । स्टोक्सले अविजित ८६ र बटलरले ५९ रन बनाए । जोनी बेयरस्टले ३६ र जासन रोयले १७ रन बनाए ।
कप्तान इयोन मोर्गनले नौ रनमा आउट भए । न्युजिल्यान्डका लुकी फर्गुसन र जेम्स निसामले तीन तीन विकेट लिए । म्याट हेनरी र कोलिन डे ग्रान्डहोमले एक एक विकेट लिएका थिए ।
यसअघि लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोल्सले अर्धशतकीय इनिङ खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५५ रन बनाए ।
टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, जेम्स निसाम र मार्टिन गप्टिलले समान १९, कोलिन डे ग्रान्डहोमले १६ र रस टेलरले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्स र लियाम प्लुनकेटले तीन तीन विकेट लिए । यसैगरी जोफरा आर्चर र मार्क उडले एक एक विकेट लिएका थिए ।