जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले जितेका छन् । दोस्रोपटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भए । यस्तै त्रिभूवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हाँसिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ ।
क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लाबाट रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गरेका छन् । यस्तै दोस्रो स्थान हाँसिल गरेका भण्डारीले पाँच घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित समय पूरा गरे भने त्रिभुवन आर्मी क्लबका महताराले पाँच घण्टा २४ मिनेटमा पूरा गरेका हुन् ।
यस्तै महिलातर्फको प्रतियोगितामा कर्णाली स्पोट्स क्लब जुम्लाकी राममाया बुढाले उपाधि प्राप्त गरेकी छन् । क्लबकै मञ्जु रावत दोस्रो र २४ नम्बर बाहिनी जुम्लाकी रोजिना भण्डारीले तेस्रो स्थान हाँसिल गरे । मुगुको रारा तालबाट अध्यक्ष शाहीले प्रथम स्थान हाँसिल गरेकी बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा निर्धारित समय पूरा गरेको बताइन् ।
यसैगरी रावतले ६ घण्टा ४६ मिनेट ४० सेकेण्डमा र भण्डारीले ६ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । सो प्रतिस्पर्धामा रहेका ६३ जना मध्ये ६१ जनाले दूरी पार गरे ।
म्याराथनका प्राविधिक संयोजक तथा धावक हरिबहादुर रोकायाले जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फ उत्कृष्ट ६ जना नेपाल ट्रेल रेस सिरिजको फाइनलमा प्रवेश गरेको बताए । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।