logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं दक्षिण एसियाली खेलकुद : भारोत्तोलनमा संगीता राईले कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर १९ २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी संगीता राईले कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

बिहीबार देखि पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन्।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन्। यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन्। श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन्।

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो। प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ।

भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन्। हसानीे स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन्।

बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन्। उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन्। विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भबाहेक सबै देशको सहभागिता छ। भुटानको यो पहिलो सहभागिता हो। महिला र पुरुषतर्फ दशदश तौल समूहमा प्रतिष्पर्धा हुनेछ। बिहीबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार