राजनीति
चिनमा जारी एसियन गेम्सकाे प्रतियोगितामा कुनै पदक जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको अनुहारमा विजयी मुस्कान थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत आज विशेष रूपमा गरिएको थियो । खेलाडीहरूलाई पहिलो आम यात्रुहरू निस्किने टर्मिनलबाटै बाहिर निकालिन्थ्यो ।
आज भने भिन्दै टर्मिनलबाट निकालियो । नेपाल प्रहरीले टीमका स्वागत गर्न बाजागाजासमेत व्यवस्था गरेको थियो ।
प्रहरीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एसियन गेम्स क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्वकीर्तिमान कायम गरेका थिए । सम्भवतः त्यसैलाई सेलिब्रेट गर्न प्रहरीले विशेष रूपमा स्वागत गरेको हो ।
कप्तान रोहित पौडेलले सोचेजस्तो नतिजा ल्याउन नसके पनि समग्रमा प्रतियोगिता राम्रो भएको बताए । ऐरीले आफ्नो विश्व कीर्तिमानलाई लिएर खुशी व्यक्त गरे ।
यस प्रतियोगितामा नेपालले मंगोलिया र माल्दिभ्सलाई सहज रूपमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो। सो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो ।
क्वार्टरफाइनलमा भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सफल भएको थियो ।
क्वाटरफाइनलमा भने भारतसँग कडा प्रतिस्पर्धामा पराजित भएको हो । भारतसँग खेल हारे पनि नेपालले मन जितेको प्रतिक्रिया सर्वत्रबाट आइरहेको छ ।