राजनीति
भारतमा एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। चेन्नइस्थित एमए चिदम्बरमा स्टेडिमयमा सुरु हुन लागेको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
भारतले ओपनर शुभमन गिलको स्थानमा इशान किशनलाई प्लेइङ–११ मा मौका दिएको छ। गिल डेंगीका कारण होटलमा नै आराममा रहेका छन्।
पछिल्लो समय भारत उत्कृष्ट लयमा रहेको छ। एसिया कप जितेको भारतले घरेलु मैदानमा नै भएको एकदिवसीय सिरिजमा अस्ट्रेलियालाई २–१ ले हराएको थियो। प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलिया पछिल्लो समय खराब फर्मबाट गुज्रिएको छ। भारत आउनुअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग समेत सिरिज हारेको थियो।
समग्रमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म कुल १ सय ४९ एकदिवसीय खेल भएका छन्। अस्ट्रेलियाले ८३ र भारतले ५६ खेल जितेका छन्। एकदिवसीय विश्वकपमा पनि इतिहासमा अस्ट्रेलिया नै बलियो छ।
दुई टिमबीच एकदिवसीय विश्वकपमा १२ खेल भएका छन्। जसमा ८ खेलमा अस्ट्रेलियाले जित निकाल्दा ४ खेलमा मात्र भारत विजयी भएको छ। पछिल्लो पल्ट २०१९ मा भएको स्पर्धामा भारत विजयी भएको थियो।