राजनीति
२०२६ को फिफा विश्वकप छनोटअन्तर्गत भएको खेलमा ब्राजिल उरुग्वेसँग २-० ले स्तब्ध भएको छ। ब्राजिल पराजित भएको खेलमा नेयमार भने गम्भीर घाइते भएका छन्। उनलाई स्ट्रेचरमार्फत मैदाबाट ल्याइएको थियो। उनी अब कहिले ब्राजिलियन टिममा फर्किन्छन् भन्ने अनिश्चित छ।
उरुग्वेले २२ वर्षपछि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई पराजित गर्न सफल भयो। घरेलु टोली उरुग्वेका लागि डार्विन नुनेज र निकोलस डि ला क्रुजले समान १-१ गोल गरेका थिए। मोन्टेभिडियोमा बुधबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दबाब बनाएपनि गोल गर्न सकेन। ४२औं मिनेटमा म्याक्सिमिलियानोको पासमा नुनेजले गोल गर्दै उरुग्वेलाई १-० को अग्रता दिलाए।
ब्राजिल भने पहिलो हाफको अन्तिम समयमा आफ्ना स्टार स्ट्राइकर नेयमारलाई गुमाउन पुगेको थियो। उनको घुडामा चोट लाग्न पुगेपछि उनलाई स्टेचरबाटै मैदानबाट बाहिर लैजानु परेको थियो। उनको चोट कति गम्भीर भन्ने पूर्ण विवरण आउन बाँकी छ।
उरुग्वेले ७७औं मिनेटमा निकोलसको गोलमार्फत अग्रता दोब्बर बनायो। उनले नुनेजको पासलाई सदुपयोग गरेका थिए। यसअघि उरुग्वेले सन् २००१ जुलाईमा भएको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमै ब्राजिललाई १-० ले पराजित गरेको थियो। त्यसयता उरुग्वेले १२ खेलमा जित निकाल्न सकेको थिएन। जसमा ३ बराबरी र ९ हार रहेका छन्।
विश्वकप छनोटमा ब्राजिलले सन् २०१५ पछि पहिलो हार बेहोरेको हो। यस्तै उरुग्वेसँगको हारसँगै ब्राजिलले विश्वकप छनोटमा पहिलोपटक लगातार दुई खेलमा अंक गुमाउन पुग्यो।
हारपछि ब्राजिल ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा झरेको छ। ब्राजिललाई हराएको उरुग्वेको समान ४ खेलबाटै ७ अंक रहेपनि हेड टु हेडमा दोस्रो स्थानमा उक्लिएको छ।