logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

टी– २० विश्वकप : नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको रोमाञ्चक जित


  • राजनीति
  • शनिबार, माघ २५ २०८२

काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले पराजित गरेको छ ।

नेदरल्याण्ड्सले दिएको १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ७ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर साहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अर्का ओपनर सैम अयुबले १३ बलमा चार चौका र एक छक्कासहित २४ रन थपे । बाबर आजमले १५ र कप्तान सलमान अली आघाले १२ रन जोडे ।

पाकिस्तान ११औँ ओभरको समाप्तिसम्म ९८–३ को सहज स्थितिमा थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा पाकिस्तान ११४–७ को कठिन स्थितिमा आइपुगेको थियो ।

त्यसपछि ब्याटिङमा आएका फहिम अस्रफले आक्रामक ब्याटिङ गर्दै ११ बलमा दुई चौका र तीन छक्कासहित २९ रन बनाए । फहिमसँगै साहिन साह अफ्रिदी पाँच रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । लोगन भान विक, काइल क्लेइन र रोइलोफ भान डेर मेर्वेले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन जोडे । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । बास डे लिडेले २५ बलमा चार चौकासहित ३० रन थपे । ओपनर माइकल लेभिटले १५ बलमा तीन चौका र एक छक्कासहित २४ रन बनाए ।

कोलिन एकरमनले २० रन जोडे । आर्यन दत्तले १३ रन थपे । लोगन भान विक ‘गोल्डेन डक’ भए ।

पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए । अब्रार अहमेद, सैम अयुब र मोहम्मद नवाजले समान दुई विकेट लिए । साहिन साह अफ्रिदीले एक विकेट हात पारे ।

प्रतियोगितामा पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’मा छन् । यो समूहमा यी दुई टिमसँगै नामिबिया, अमेरिका र भारत छन् । आजदेखि सुरु प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार