बैतडी- बैतडीको महाकाली नदी किनारका बासिन्दा नदी वारपार गर्न ट्युबकै भर पर्ने गरेका छन्। महाकाली नदीमाथि झोलुंगे पुल समेत नहुँदा दशरथचन्द नगरपालिका–६ सेराका स्थानीयहरू वर्षौंदेखि ट्युबकै माध्यमबाट नदी वारपार गर्ने गरेका हुन्।
‘दैनिक उपभोग्य सामग्री, औषधिका लागि भारतीय बजारकै भर छ। महाकाली नदीमा पुल छैन। वर्षौंदेखि ट्युबमै आवतजावत गर्न बाध्य छन स्थानीय ।भगीरथ अवस्थीले अन्नपूर्ण पोष्टमा लेखेका छन।
दशरथचन्द नगरपालिका ६ सेरामा नेपालतर्फबाट अहिले बल्ल कच्ची सडक पुगेको छ। सीमावर्ती बजार झुलाघाट हिँडेर जानुपर्दा दुई घण्टा लाग्छ।कोही बिरामी भएको बेला सीमावर्ती भारतीय अस्पताल लैजान पनि ट्युबकै भरमा छन।आजभोलि त ट्युबमा पनि भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन्। ट्युबमा यात्रा गर्न देख्यो भने ट्युब नै काटी दिन्छन्।’स्थानीय बताउछन।
महाकाली नदीमाथि झोलुंगे पुल बनाउने धेरै पहिलादेखि कुरा चलेको भएपनि दुई देशको सीमा नदी भएकाले कुन ठाउँमा कसरी बनाउने भन्ने विषयमा केही छलफल हुन सकेको छैन। महाकाली नदीमा पुल नहुँदा सीमा क्षेत्रका नेपाली नागरिकलाई भने ज्यादै सकस छ।
महाकाली नदीमा ट्युबबाट यात्रा गर्दै दशरथचन्द नगरपालिका ६ सेराका पुस्कर कार्की। फोटोः भगीरथ अवस्थी/अन्नपूर्ण
‘नुनदेखि लिएर अन्य सामग्री खरीदका लागि भारतीय बजार नजिक पर्छ। त्यसका लागि ट्युबमै जोखिमपूर्ण यात्रा गर्नुपर्छ।’ दशरथचन्द नगरपालिका ६ सेराका पुष्कर कार्कीले भने, ‘नेपालकै पुछारमा बैतडी छ। बैतडीको पुछारमा हामी छौं। पुछारमा रहेका नागरिकलाई सरकारले हेर्न सकेको छैन। हामीले रातको समयमा पनि ट्युबबाटै वारपार गर्नुपर्छ।’