राजनीति
उपत्यकाको भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका ९ भातेढिकुरबाट एक युवालाई कटुवा पेस्तोल र ६ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भातेढिकुरस्थित सडक छेउमा हिँड्दै गरेका बाराको फेटा गाउँपालिका ३ घर भएका ३८ वर्षीय शम्भुप्रसाद साह कानुलाई सोमबार राती कटुवा पेस्तोल र गोलीसहित नियन्त्रणमा लिइएको हो।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशी नेतृत्वको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा साहको साथबाट पेस्तोल र गोली बरामद गरेको हो। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएका साहलाई जगाती वृत्तमा राखिएको बताए।
उनीमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए। कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका उनलाई सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको विशेष टोलीले डेढ घण्टा पछि पक्राउ गरेको थियो । प्रहरीका अनुसार साह उपत्यकामा कसैको ‘हत्या गर्न’ राजधानी आएक थिए ।