राजनीति
सिंगो देश लकडाउनमा छ । शहरबासी घरभित्रै बसेको सात दिन भइसक्यो । अब कम्तिमा पनि २५ चैत्र सम्म यसरी नै लकडाउनमा बस्नुपर्नेछ । यदि जरुरी काम पर्यो र बाहिर निस्कियो भनेपनि प्रहरीले केरकार गर्छ, सडक किनारामा दुई घण्टसम्म उभ्याउँछ ।
तर, सोमबार साँझ बल्खु कटेर कीर्तिपुरतर्फ लाग्दा यस्तो लाग्थ्यो, लकडाउन होइन, ओपन भएको छ ।
झोला बोकेका मानिसहरु ओहोर–दोहोर गरिरहेका थिए । अनि गाडी चल्नका लागि दौडादौड गरिरहेका थिए । तरकारी पुर्याएर फर्किएका गाडी आयो कि उनीहरु ज्यानको परवाह नगरी दौडिएर झुण्डिन पुग्थे ।
त्यही दौडधुपमा थिए रौतहट सदरमुकाम गौरका ४१ वर्षीय रामागन शाह । उनी दैनिक ज्यालामा कोटेश्वरमा निर्माणसम्बन्धी काम गर्थे । कामका सिलसिलामा साथीभाइबाट कोरोना भाइरस (कोभिड–१९) बाट सुनेका थिए । तर, सरकारले घोषणा गरेको लकडाउनको पत्तै पाएनन् ।
ठेकदारले बिदा दिएन । तर, जब लकडाउनमा कडाइ हुनथाल्यो, ठेकदारले ‘भोलिबाट काममा नआउनू’ भन्यो । काम गर्न नपाएपछि दैनिक ज्याला आउने कुरै भएन । ‘सात दिनसम्म जसोतसो काटिएला भन्ने सोचेँ’, शाहले भने, ‘सरकारले फेरि बन्द बढाएको थाहा पाएपछि हामी समस्यामा पर्यौं ।’
न घर जान सक्ने, न काठमाडौंमै बस्ने सक्ने अवस्थामा पुगे उनी । हुन त सरकारले आइतबार राहत दिने भनेको छ । तर, अहिले नै भोकै हुने अवस्थामा पुगेका उनीहरुलाई सरकारको राहत ‘लगनपछिको पोते’ जस्तै लाग्यो ।
भोकै भौतारिरहँदा एक जना साथीले हरेक दिनरात तरकारी बोक्ने गाडीले मानिसहरु ओसारिरहेको सुनाए । र, उनी त्यही गाडीको आशामा बल्खु आइपुगेका हुन् ।
तरकारीको गाडी भन्दै मजदुर ओसार्दै
रामागनसँग कुरा गरेको केहीबेरमा तरकारी बोक्ने पिकअप भ्यान आइपुग्यो । गाडीको अगाडि पट्टी सिसामा ‘तरकारी तथा फलफुल ढुवानी’ भनेर ठूलो अक्षरमा प्रिन्ट गरिएको कागज पनि टाँसेको थियो ।
तर, पछाडि भने महिला, बालबालिकासहित ३०-३२ जना थिए । रामागन पनि गाडी आयो भन्दै दौडिए । तर, पहिले नै धेरै मानिस रहेको चन्दै चालकले उनलाई भने चढाउन मानेनन् ।
त्यही बेला हामीले सोध्दा चालकले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिएरै गाडी चलाएको बताए । थप कुराकानी गर्न खोज्दा डराए र यात्रु पछाडि झुण्डिन खोज्दाखोज्दै गाडी कुदाए ।
गाडी अगाडि बढेपछि मानिसहरु पछिपछि दौडिए । तिनैमध्येका एक थिए, रौतहटका परमानन्द शर्मा । नेपालटारमा फर्निचरमा काम गरिरहेका उनले पनि ठेकदार भागेपछि बिचल्लीमा परेको सुनाए । ‘काम पनि बन्द छ, ठेकदार पनि भाग्यो’, शर्माले सुनाए, ‘यहाँ बसेर खान पाइएन ।’
उनी पनि राति गाडी पाइन्छ भन्ने सुनेर बल्खुसम्म आएका रहेछन् । तर, पेट्रोल पम्प पुग्दापनि गाडी पाएका थिएनन् । उनी भन्दै थिए, ‘यस्तो बेला घर जान पाउने भएपछि पैसाको कुरै भएन । जसरी पनि घर पुग्नै पर्यो ।’
कोटेश्वरमा पनि यात्रुको भिड
बल्खुको जस्तै अवस्था कोटेश्वरमा पनि थियो । ९ बज्नै लाग्दा बा ३ ख २५२१ नम्बर बस कोटेश्वरको आकाशे पुलमुनि रोकिराखेको थियो । दोलखासम्म जान लागेको बसका सिटहरु भरिएका थिए ।
गाडी भएको ठाउँमा बेलाबेला ट्राफिक प्रहरी जवान पनि हिँडिराख्थे । उनीहरुमध्ये एकले चालकलाई सोधे, ‘पास बनाएको छ नि ? बसका चालकले मुन्टो हल्लाउँदै पास बनाएको बताए । त्यसपछि ती ट्राफिक प्रहरी उनलाई सिटभन्दा बढी यात्रु नचढाउन चेतावनी दिँदै अघि बढे ।
तर, केहीबेरमै थप मानिस चढे । साथै यात्रुको सूची हेर्दै गरेका एक जना भन्दै थिए, ‘अझै बाटोबाट चढाउनुछ ।’
त्यो सबै नियालिरहेका दीपेन्द्र सापकोटाले आफूलाई पनि जिरीसम्म लैजान सह–चालकसँग आग्रह गरे । काठमाडौंमा रंग लगाउने काम गरिरहेका उनले अनलाइनखबरसँग सुनाए, ‘ममी कोठामा हुनुहुन्छ, काम पनि बन्द भइहाल्यो । त्यसैले घर जान पाए हुन्थ्यो भनेको हो ।’
यो बसले त उनलाई लगेन । तर, घर जाने आशा मारेनन् उनले । ‘भोलि चाहिँ पहिल्यै बुक गर्नुपर्ला’, सापकोटाले सुनाए, ‘म एक्लै भए त उभिएरै जान्थेँ । ममी पनि हुनुहुन्छ । त्यसैले सिट बुक नगरी हुँदैन ।’
उनकाअनुसार अरु बेला पाँच सय रुपैयाँमा घर पुगिने भएपनि अहिले दोब्बरभन्दा बढी भाडा लिने गरिएको छ ।
उनले मोटरसाइकलमा जानको लागि अनुमति पाइन्छ कि भनेर सोध्न कोटेश्वर प्रहरी चौकी जान चाहेका थिए । तर, प्रहरीले चोकसम्म पनि जान नदिएको उनले गुनासो गरे ।
‘पासको लागि सीडीओ कार्यालयसम्म पनि जानसक्ने अवस्था भएन’, उनी भन्छन्, ‘बाहिर निस्कियो कि लाठी देखाएर कुटौंला जस्तो गर्छन् । आमालाई कुट्छन् कि भन्ने डर भएर दिउँसो पनि फर्कियौं ।’
ओखलढुंगाको भाडा दुई हजार
आकाशे पुलमुनि ना ५ ख ७४७५ नम्बरको मिनी बस पनि राखिएको थियो । सह–चालकले गाडी ओलखढुंगासम्म जान लागेको सुनाए । तर, भाडा दुई हजार रुपैयाँ लाग्ने बताएपछि यात्रुहरु हच्किए ।
‘प्रकोपको बेला भाडा पनि कति बढाउन सकेको ?’ एक जना भन्दै थिए, ‘न घर जान सक्ने अवस्था छ, न काठमाडौंमै बस्ने ।’
त्यहीँ भेटिएका अर्का एक युवक, जो धरान जान चाहन्छन् । ‘इटहरीसम्म गाडी जाँदो रहेछ, त्यहाँ पुगियो भने हिँडेरै पनि पुगिन्छ भनेर हो’, उनले सुनाए, ‘बिहान ढिलो पुर्यायो भने चाहिँ हिँड्न नदेला कि ?’ इटहरीमा चेकिङ हुने सुनेको भन्दै उनले भने, ‘नभए दिनभरी बसेर राति भएपनि घर पुग्ने हो ।’
दुई जना साथीलाई घरतिर पठाउन सडकमा निस्किएका कोटेश्वर स्थित पशुपति टेलर्समा काम गर्ने परवेज आलम पनि यस्तै अवस्थामा भेटिए । उनी पनि गाडी कुरिहेका थिए ।‘हामीले पिसको दरमा काम गर्ने हो’, उनले सुनाए, ‘सबै बन्द भएपछि काम पनि ठप्प छ । त्यसैले सबै घरतिर फर्किँदैछौं ।’
संक्रमणको जोखिम
विदेशबाट आएका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिए लगतै सरकारले लकडाउन घोषणा गर्नुको मुख्य उद्देश्य हो, सामाजिक दुरी कायम होस् र संक्रमण नफैलियोस् भन्नु ।
तर, साँझपख सडकमा भेटिएकाहरुलाई यसकोभन्दा धेरै चिन्ता घर जान पाइन्छ कि पाइन्न भन्ने देखिन्थ्यो ।
जनस्वास्थ्यविद् समीरमणि दीक्षित भने यसरी आवतजावत गर्न दिने हो भने लकडाउनको अर्थ नहुने बताउँछन् । उनी भन्छन्, ‘यसरी सानो गाडीमा खाँदेर लाने हो भने सार्वजनिक यातायात नै खोल्दिए भइहाल्यो नि !’
यसरी सवारीसाधनमा हिँड्दा संक्रमणको जोखिम हुने मात्र नभई भोलिका दिनमा कसैलाई संक्रमण भइहाल्यो भने ‘कन्ट्याक ट्रेसिङ’ गर्न गाह्रो हुने दीक्षित बताउँछन् ।
गृह मन्त्रायलका प्रवक्ता केदारनाथ शर्मा भने निर्माण कार्य बन्द भएर अलपत्र परेको नेपालीहरुको सन्दर्भमा हिँड्न पाउने भनिएको भएपनि अहिले त्यसमा समेत रोक लगाइसकिएको दाबी गर्छन् । ‘स्थानीय तहमा विवरण राखेर त्यस्ता मजदुरलाई पठाउने भनेका थियौं । सोमबारदेखि त्योपनि बन्द भइसकेको छ,’ सह–सचिव शर्माले अनलाइनखबरसँग भने ।
तर, मानिसहरु बस नै चढेर गइरहेका छन् नि भन्ने प्रश्नमा उनले थप विषय प्रमुख जिल्ला अधिकारीलाई सोध्न सुझाए ।
त्यसअनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई सोध्दा उनले पनि सोमबार बिहान १० देखि ११ बजेसम्म अलपत्र कामदारलाई घर जान दिने भनिएपनि अहिले रोक लगाइसकिएको दाबी गरे । काठमाडौंका सीडीओ जनकराज दाहालले भने फोन उठाएनन् । अनलाइन खबरबाट