राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गोप्य बैठक बसेको छ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट क्रुद्ध बनेका प्रचण्ड र माधव समूहको बैठकले ओलीविरुद्ध कडा कदम चाल्ने सहमति जुटएको छ। पार्टीमा छलफल नै नगरी ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरिए ओलीविरुद्ध पार्टीको बहुमतबाट कारवाहीसम्म गर्ने रणनीति बनाएको छ।
खुमलटार बैठकले ओलीको एकलौटी निर्णय मान्य नहुने निर्णय लिएको छ। ‘खुमलटार बैठकले ओलीको एकलौटी निर्णय अस्वीकार गर्ने निर्णय लिएको छ’, वरिष्ठ नेता झलनाथ खनालले थाहाखबरसँग भने, ‘कार्यकारी अध्यक्ष दाहाल, स्थायी कमिटी र केन्द्रीय कमिटी कसैलाई ओलीले ल्याएको अध्यादेशबारे थाहा छैन। यस्तो आचर्यलाग्दो तरिकाले अध्यादेश ल्याउनुको कारण के हो? हामीलाई यो कुरा मान्य हुँदैन।’
वरिष्ठ नेता खनालले आफ्नै पार्टीको सरकारले यति ठूलो निर्णय लिँदा पनि थाहा नदिएको भन्दै आक्रोश पोखे। ‘हाम्रो पार्टीको सरकारले यत्रो ठुलो निर्णय गर्दा कुनै जानकारी छैन’, उनले भने, ‘भोलि स्थायी कमिटी बैठक बस्छ। बाँकी कुरा त्यहीँ हुन्छ, यसरी पार्टी सञ्चालनमा समस्या आउँछ।’
प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी अध्यादेश जारी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई तुरुन्त फिर्ता लिन भनेका थिए। उनले यो अध्यादेशले लोकतन्त्रकै उपहास गरेको भन्दै ओलीलाई उक्त निर्णय तुरुन्त फिर्ता लिन दबाब दिएका थिए।
तर ओलीले आफूसहित तीनजना सदस्य जुटेर संवैधानिक परिषद्को बैठक बस्ने प्रावधानसहित अध्यादेश ल्याएपछि दाहाल-नेपाल समूह बहुमत सचिवालय सदस्यसहित रणनीति बनाउन जुटेको हो।
सचिवालय सदस्यहरु नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरु खुमलटारमा पुगेर बैठक गरेका थिए।
ओलीले आफूखुसी अध्यादेश जारी गरेपछि अध्यक्ष दाहालले त्यसको फिर्ता हुनुपर्ने माग गरिरहेका छन्। अध्यक्ष दाहालसहित नेकपाका बहुमत नेता र प्रतिपक्षी दलले समेत त्यसको विरोध गरिरहेका छन्।
ओलीले यसअघि वैशाख ८ गते पनि दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुईवटा अध्यादेश ल्याएका थिए। तर, त्यसबेला नेकपा र नेपाली कांग्रेसहित अन्यद दलबाट पनि चौतर्फी विरोधपछि वैशाख १२ मा फिर्ता लिएका थिए।