logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सडकमा भुस्याहा कुकुरजस्तो कराउदैमा प्रधानमन्त्री हट्दैनन् : मन्त्री पाेखरेल


  • राजनीति
  • शुक्रबार, फाल्गुन १४ २०७७

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् ।

शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिए । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए ।

अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताए । उनले भने, ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । केपी ओली संसदको सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले ।

केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छन्, तिमी सबैले बुझ । म यहाँहरुलाई के भन्न चाहान्छु भने हामी त्यो कार्यान्वयन गर्छौ भनेको अर्थ के हो भने संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडी बढ्छौ, संसदको सामना गर्छौ । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याउ, त्यसको डटेर हामी सामना गर्छौ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौ । यो सबैले बुझे हुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ ।

सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरूले नारा लाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने पनि बताए । उनले भने, ‘केपी ओलीले बीचमै छोड्छन् कि, यस खालका कुराहरु तपाईहरुलाई लागेको हुनसक्छ । म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले म तपाईहरुलाई पूर्ण जवाफदेहिताका साथ भन्न चाहान्छु ।

केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढंगले, लोकतान्त्रिक ढंगले गरिएका अभ्यासहरूमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसदको सामना गर्नुहुन्छ । संसदको सामना गरेर नेपाली जनता समक्ष आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई फेरी एकपटक प्रमाणित गर्नुहुन्छ ।

 

तर, सडकमा भुस्याहा कुकुर जस्तो कराउनेहरूले नारा लगाउदैमा केपी ओलीले आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनु हुने छैन । यो चिज म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार