राजनीति
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री रघुजी पन्तको पुत्ला दहन गरेको छ ।
पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले श्रावण २ गतेको देशव्यापी शैक्षिक हडताल घोषणा गरेको छ । सोही शैक्षिक हड्तालाई सफल बनाउने उद्देश्यले आज अखिल क्रान्तिकारीले डिल्लीबजरदेखि सिंहदरबार तर्फ जाने बाटोमा प्रधानमन्त्री तथा शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ।
संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको आरोपमा पुत्ला दहनसहित मशाल जुलुस गरिएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूका अनुसार, राज्यद्वारा जनपक्षीय शिक्षा ऐन तर्फ अग्रसर नभई उल्टै शिक्षालाई व्यापारिक लाभको स्रोत बनाउने प्रयासप्रति विरोधस्वरूप यो पुत्ला दहन गरिएको हो।
अखिल (क्रान्तिकारी) ले निःशुल्क, सम्मान र वैज्ञानिक शिक्षासहितको जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै निरन्तर प्रदर्शन गर्नुको साथै सम्बन्धीत सरकारी निकायलाई ज्ञापनपत्र समेत बुझाएको छ ।