राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कोही एमालेमा सदस्यता नवीकरण नभएको बताएका छन्।
एमाले मुख्यालयमा बसेको पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता बारे छलफल गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पार्टी विरुद्धमा अहिले ठूलो संगठित हमला भइरहेको र यो रोकिनुपर्ने अध्यक्ष ओलीको भनाइ रहेको छ ।
बैठकमा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा सक्रियता भएको कुरा आफूले पत्रिकामा आएको समाचारबाट थाहा पाएको दाबी गरेका बैठकमा सहभागी एक नेताले जानकारी दिए । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको र यसको निर्णय कमिटीले गर्ने बताए ।
“उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो । अहिलेको संवैधानिक व्यवस्था अनुसार उहाँ फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो । कसैले उचालेका भरमा उहाँ राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन । सदस्यता नविकरणको निर्णय कमिटीले गर्छ । विधिसम्मत रुपमा निर्णय गर्ने हो। यो मेरो व्यक्तिगत धारणा हो,” ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने ।