राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको हिंस्रक आक्रमणको निन्दा र विरोध गर्नुपर्ने बताएका छन् ।
अमेरिकाले हिजो भेनेजुएलाको राजधानी कराकसमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो दम्पत्तीलाई अपहरण गरेर न्युर्याेक पुर्याएको छ । अमेरिकाको आक्रमणपछि नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन भएको बताएका हुन् ।
यस्तो छ नेता खनालको भनाईः
भेनेजुएला माथि भएको हिंस्रक आक्रमणको निन्दा र विरोध गरौं
हिजो अमेरिकाको ट्रम्प प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएला माथि १५० लडाकु एयरक्राफ्टबाट नागो र क्रूर हमला गरेको छ । त्यहाँका कैयौँ नागरिकको हत्या गरेको छ, सैनिकहरूको हत्या गरेको छ, सैनिक संरचनाहरूलाई ध्वस्त पारेको छ । भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्त अपहरण गरेर अमेरिका पुर्याइएको छ ।
यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो । म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारबाहीको कडा शब्दमा निन्दा र भत्सना गर्दछु ।
भेनेजुएला र राष्ट्रपति मदुरो माथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेको थियो । किनभने भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो । अमेरिकीहरू त्यो भण्डार कब्जा गर्न र लुट्न चाहन्छन् । तर मदुरोको सरकार त्यो कार्यका निम्ति सबैभन्दा ठूलो अवरोध बनेको थियो ।
त्यहीँ “अवरोध”लाई पन्छ्याउन ट्रम्प प्रशासनले “ड्रग ट्राफिकिङ” को झुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रूपले निर्वाचित राष्ट्रपतिमाथि पाशविक पाराले आक्रमण र अपहरण गरेको छ । यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, यो अमेरिकी राज्य आतंकवाद पनि हो ।
यो क्रूर र निर्लज्ज आक्रमण विरुद्ध सम्पूर्ण भेनेजुयाली जनता साम्राज्यवादी आक्रमणका विरुद्ध उभिएका छन् । विश्वका तमाम न्यायप्रेमी देशहरू र जनताहरू अमेरिकी आक्रमणका विरुद्ध उभिएका छन् । संयुक्त राष्ट्र संघ र सिलोजस्तो तेस्रो विश्व यस आक्रमणका विरुद्ध उभिएका छन् । उनीहरू सबैले अमेरिकी आक्रमणको निन्दा र भत्सना गरिरहेका छन् । स्वयं अमेरिकामा न्यायप्रेमी अमेरिकी जनता यो हिंस्रक आक्रमणको विरुद्ध सडकमा उत्रिएका छन् ।
म नेपाली कम्युनिष्ट पार्टी र सम्पूर्ण न्यायप्रेमी नेपाली जनताको तर्फबाट यो अमेरिकी आक्रमणको फेरि पनि घोर निन्दा र भत्सना गर्दै भेनेजुएलाका जनताको विरोध र प्रतिरोधप्रति दरो ऐक्यबद्धता प्रकट गर्दछु । यस घोर अन्यायपूर्ण आक्रमणको विरोधमा उत्रिन आग्रह समेत गर्दछु ।
साथै भेनेजुएलाका जननिर्वाचित र वैधानिक राष्ट्रपति तथा प्रथम महिलाको सकुशल रिहाइको साथै संयुक्त राष्ट्र संघ र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंसक आक्रमणका विरुद्ध कडा कानुनी कारवाही गर्न, अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न, यो जङ्गली शासनको अन्त्य गर्न, साना र कमजोर मुलुकहरूको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न र विश्वबाट नै साम्राज्यवादी आक्रमणका सम्भावनाहरूलाई अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्न नेपाली जनता र विश्वभरिका जनता र राष्ट्रहरू समक्ष जोडदार आग्रह गर्दछु ।